site stats
देश
‘स्पट फिक्सिङ’मा राष्ट्रिय टोलीका अलराउण्डरको ‘कनेक्सन’ जतिन अलुवालियासँग !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’मा चर्चित नेपाली अलराउण्डरको नाम जोडिएको छ । ती खेलाडीले नेपालबाट अन्तर्राष्ट्रिय खेल समेत खेलिसकेका छन् । उनलाई नेपाली टोलीमा उदाउँदा खेलाडीको रूपमा हेरिएको थियो । उनी मधेस प्रदेशबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै आएका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउको तयारी गरेको छ । सीआईबीले अनुसन्धानका क्रममा स्पट फिक्सिङको प्रमाण फेला पारेसँगै ती अलराउण्डरसहित अन्य केहीलाई पक्राउको तयारी गरेको छ ।

NMB Bank
Dabur nepal
Agani Group

सीआईबीले अनुुसन्धान अन्तिम चरणमा पुर्याएको छ भने केही दिनमै मुद्दा बुझाउने तयारी गरेको छ । बाह्रखरीलाई प्राप्त जानकारी अनुसार नेपाली खेलाडीसहित पाँचदेखि सात जनालाई प्रतिवादी बनाउने तयारी छ । उनले लिगको एक खेलमा बलिङ गर्ने क्रममा ‘स्पट फिक्सिङ’गरेको खुलेको छ । उनले बलिङका क्रममा ‘नो बल’ फालेका थिए ।

यसबाहेक उनको ‘कनेक्सन’ जतिन अलुवालियासँग देखिएको छ । जतिन अलुवालिया क्यानले व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको सेभेन थ्री स्पोर्ट कम्पनीका मालिक हुन् । उनी प्रतियोगिता चलिरहेकै बेला भारत भागेका थिए । उनलाई ‘स्पट फिक्सिङ’मा सहमत भएवाफत रकम प्रस्ताव समेत गरिएको खुलेको छ ।
सीआईबीका एक उच्च अधिकारीले भने, “जतिन अलुवालियासँग खेलाडीको सम्पर्क नै शंकास्पद देखिन्छ । उनी कुनै टोलिका मालिक वा प्रशिक्षक पनि होइनन् । हाम्रो अनुसन्धानमा त जतिन अलुवालिया नै स्पट फिक्सिङमा सक्रिय रहेको देखिन्छ । यस्तो अवस्थामा खेलाडीसँगको कनेक्सनले घटनालाई थप पुष्टि गरेको छ ।”

Global bank

यसबाहेक पूर्वक्रिकेटर मेहबुब आलमको भूमिका पनि शंकास्पद देखिएको सीआईबी उच्च स्रोतले जनायो । ‘स्पट फिक्सिङ’मा जोडिएका विदेशी खेलाडीमा वेष्ट इन्डिजका खेलाडी छन् ।

गृह मन्त्रालयले ‘फिक्सिङ’ र स्पट फिक्सिङको अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी सक्रिय भएको थियो ।

काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए । त्यसपछि सीआईबी, राष्ट्रिय खेलकुद परिषद् (राखेप), विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीलगायत निकायले अनुसन्धान सुरु गरेका थिए । सीआईबीका अधिकारीहरूका अनुसार बढीमा १० लाखसम्मको प्रस्ताव ‘स्पट फिक्सिङ’को प्रस्ताव आएको खुलेको छ ।

गत पुस ९ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ मा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय