काठमाडौं । जोशुआ किमिचले अन्तिम मिनेटमा गोल गरेपछि बायर्न म्युनिख मंगलबार राति जर्मन बुन्डेसलिगामा हारबाट जोगिएको छ । शीर्ष क्लब बायर्नले कोलनसँग १–१ को बराबरी खेलेको हो ।
पाहुना टोली कोलनले चौथो मिनेटमै एलिस स्किरिको भली गोलबाट अग्रता लिएको थियो । तर, अन्तिम मिनेट सम्हालिन नसक्दा कोलनले बायर्नसँग अंक बाढ्नु पर्यो । ९०औँ मिनेटमा किमिचले डायोट उपामेकानोको पासमा बराबरी गोल फर्काए । यससँगै बायर्न अंक खोस्न सफल भयो ।
साविक विजेता बायर्न १७ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेलबाट ३२ अंक जोडेको आरबी लाइपजिग दोस्रो स्थानमा छ । कोलन २१ अंकका साथ दशौँ स्थानमा छ ।
लाइपजिगले गएराति नै साल्केलाई ६–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो । लाइपजिगको जितमा आन्द्रे सिल्भाले दुई गोल गरे । टिमो वेर्नर, बेन्जामिन हेनरिच, ड्यानि ओल्मो र युसुफ पौलसेनले एक एक गोल गरेका थिए ।

छैटौँ स्थानको उल्फ्सबर्गले रेलिगेशन क्षेत्रको हेर्था बर्लिनलाई ५–० ले हरायो । १३औँ स्थानको होफिनहेइमले भीएफबी स्टुटगार्टसँग २–२ को बराबरी खेल्यो ।