काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच भेट भएको थियो ।
भेटमा लामिछानेले आजै गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने बताएका थिए । बालुवाटार स्रोतका अनुसार बेलुकासम्ममै सपथ ग्रहण गराउन लामिछानेले अनुरोध गरेका थिए ।
रवि लामिछानेलाई प्रचण्डको जवाफ– प्रक्रियाबाहिर गएर अहिले गृह मन्त्रालय दिन मिल्दैन
भेटमा प्रधानमन्त्री दाहालले प्रक्रियाबाट आएपछिमात्रै गृह मन्त्रालयका विषयमा कुराकानी हुने जानकारी गराएको बालुवाटार स्रोतले जानकारी दियो ।

“अहिले तपाईँलाई होइन, तपाईँको पार्टीलाई पनि गृह मन्त्रालय दिन सकिने अवस्था छैन,” प्रधानमन्त्री दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “मेरो पार्टीमा पनि गृह मन्त्रालय अब प्रधानमन्त्रीसँगै राख्नुपर्छ भन्ने सुझाव आएको छ । तपाईँको नागरिकताको विषय अझै टुंगो लागिसकेको छैन । राहदानीको विषय पनि उठेको छ ।”
स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले स्पष्ट शब्दमा गृह मन्त्रालय नदिने बताएका थिए ।
“हामीलाई बालकोटको पनि दबाब चाहिँ छ,” बालुवाटार स्रोतले केपी शर्मा ओलीप्रति संकेत गर्दै भन्यो, “तर प्रधानमन्त्रीले स्पष्ट शब्दमा अहिले गृह मन्त्रालय दिन सकिँदैन भन्नुभएको छ ।”
भेटमा लामिछानेले आफूहरुको पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने संकेत गरेका थिए । रास्वपाले भने कुनै निर्णय गरिनसकेको सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए ।