site stats
साहित्य
मुम्बई दौडाहामा जेल भ्रमणका दिन

भारतको राजधानी नयाँ दिल्लीबाट प्रस्थान गरेको अर्को दिन अर्थात् जुलाई १२, २००९ का दिन आइपुगेको छु मुम्बई, बिहानीको ठिक साढे छ बजे ।

रेलभित्रै बिहानको नास्तामा चियाको पुरिया, चिनीको पाकेट, प्लास्टिकको सानो कप, बिर्कोसहितको सानो कपमा दूध, एक बोतल नीर वाटर, एक सानो पुरिया मेरी बिस्कुट मिलेकोले बिहानको नास्ता गरेको छु, रेलयात्राको क्रममा नै । त्यसैले पनि केही खान मन लागेको छैन, मुम्बई स्टेसनमा उत्रिँदा ।

स्टेसनको वरिपरि सतर्कतापूर्वक नजर डुलाउँछु । मैले ढाकाटोपी ओढेको छु यस बेला । मलाई लिन आउनेले टाढैबाट नेपाली हो भनेर चिन्न सकून् भन्ने उद्देश्यले नै नेपाली टोपी लगाएको हुँ ।

S.A.U
Agani Group

यस्तैमा मुस्कुराउँदै आए मेरै नजिक एक नवजवान । र, प्वाक्क प्रश्न तेर्स्याउन भ्याए उनले, ‘सर नै हो नेपाली दूतावास नयाँ दिल्लीबाट आउनुभएको ?’

‘हो ।’ मैले छोटो जवाफ दिएँ ।

Global bank

‘रेस्क्यु फाउन्डेसनबाट सरलाई लिन आएको । मेरो नाम हो गौतम शर्मा ।’

‘ए, उसो भए भइहाल्यो नि । लौ न त जाऊँ ।’

जीप ल्याउनुभएको रहेछ गौतम भाइले । आफ्नो सबै लगेज जीपमा राखेपछि होटेल जानका लागि यात्रा सुरु गर्यौँ, बिहानको साढे दश बजे ।

स्टेसनबाट अलिक पश्चिम लागेर महापालिका मार्गलाई समाएर अगाडि बढ्न थाल्यौँ र त्यहाँबाट महाऋषि कार्भे रोड हुँदै पीएम मोहन माल्भिया मार्ग भएर अरेबियन सागरको बीचभागनिर निर्मित हाजी अली दर्गाह (इस्लाम धर्मावलम्बीको आस्थाको केन्द्र मस्जिद)को छेवैबाट लाला लाजपत राय मार्ग हुँदै उत्तरतर्पm हानियो जीप ।

यो दरगाह जमिनको सतहदेखि करिब १५ सय फिट टाढा अरेबियन समुद्रको भागमा अवस्थित छ । दरगाहमा जानका निमित्त निम्न तहको ज्वारभाटा चल्ने समयमा जान सकिने गरी साँघुरो किसिमले ढुंगेन पत्थरहरू उठाएर बनाइएको आली रहेको छ । किन र कसरी समुद्रको बीचतिर दरगाह बनाइएको हो, त्यसबारेमा अनभिज्ञ नै छु म ।

समुद्रबीचको दरगाहलाई पछि छोड्दै बढिरहेका छौँ हामी । यस्तैमा भीबी ओर्लिकर मार्गमा प्रवेश गरेर बान्द्रा ओर्ली सी लिंकबाट बान्द्रातिर बढ्यौँ । समुद्रमाथि निर्मित पुलको यात्रा गर्दा निकै रमाइलो लाग्यो मलाई । मुम्बईमा आइपुगेपछि अचम्मैअचम्मको बीचमा यात्रा गरिरहेको छु । कहिले समुद्रको बीच भागमा बनेको दरगाह हेर्दै त कहिले समुद्रमाथि बनेको पुल तर्दाको रोमाञ्चक क्षणलाई आत्मसात् गर्दै ।

सवारीसाधनहरूले यो पुल प्रयोग गर्नका लागि शुल्क अर्थात् टोल भुक्तानी गर्नुपर्ने रहेछ । जीपका लागि भारु ९० भुक्तानी गरी रसिद लिए गौतम भाइले । अनि, पुलको यात्राकै समयमा सुनाए पुलबारे—

‘यो सी लिंकको निर्माण प्रारम्भ सन् २००० मा सुरु गरी आंशिक रूपमा सम्पन्न भएपछि जुन ३०, २००९ बाट सर्वसाधारणका लागि खोलिएको हो । सी लिंक समुद्रको सतहदेखि ४१३ फिट उचाइमा बनाइएको छ र यसको लम्बाइ ५.६ किमि रहेको छ । यसले मुम्बईको पश्चिमी उपनगर (सवर्व) बान्द्रालाई मुम्बईको दक्षिणी सहर ओर्लीसँग जोडेको छ । अहिले चालु भएको चार लेन र निकट भविष्यमा चार लेन थपिने गरी निर्माण कार्य जारी रहेको छ ।

यो सी लिंक चालु भएपछि बान्द्रा–ओर्लीको बीचमा पिक आवरमा डेढ घण्टा र सामान्य समयमा आधा घण्टाको समय बचत हुन गएको छ, सवारीचालक र यात्रुहरूका । यी सहरहरूका बीचमा प्रत्येक दिन कम्तीमा ३७ हजार ५०० सवारीसाधानहरूले आवतजावत गर्ने गर्दछन् । र, यसरी यात्रावधिमा बचत हुन गएकोले निकै प्रिय बनेको छ, यो सी लिंक अर्थात् पुल ।’

बान्द्रा ओर्ली सी लिंक पार गरेर बार्ली दुग्धशालाको छेवैछेउ भएर केसी मार्गलाई पक्रिएर पूर्वतर्पm हुइँकिन थाल्यो जीप ।

नयाँ ठाउँका दृश्यहरूले लोभ्याइरहेको छ मलाई । दायाँ हेरौँ कि बायाँजस्तो भइरहेछ । एकदम कन्फ्युजनमा रहेको छु म । आकर्षक र हेर्नैपर्ने दृश्य छुट्छन् कि जस्तै भइरहेछ मलाई । चुम्बकीय मुम्बईका दृश्यहरूले बेलुन फुलेको जस्तै फुलेको छु म यतिखेर ।

यस्तैमा स्वामी विवेकानन्द रोडमा प्रवेश गर्यो जीप । त्यसपछि अझै उत्तरतर्पm हान्निएर दौडिन थाल्यो बेतोडले । मानौँ, युरोपको अटोवाहन वा अमरेकाको एक्स्प्रेस हाइवेमा जसरी नै । जीपयात्राकै क्रममा समुद्रको किनारका छेउछाउमा नेपालको वाग्मती, विष्णुमती, हनुमन्ते खोलाका किनारहरूमा रहेका सुकुम्वासी बस्तीजस्तै देखिए साना टहराहरू ।

जीपको स्टेरिङमा एकचित्त भएका गौतम भाइलाई सोधेँ, ‘सुकुम्बासी बस्ती छन् नि भाइ यहाँ त ?’

‘झुपरपट्टी भनेर चिनिन्छन् मुम्बईमा यी झुपडी र छाप्राहरू ।’ गौतम भाइले छोटो जवाफ दिए ।

मैले घुमेका स्थानहरूमा खासगरी दक्षिण एसियामा सुकुम्वासीहरू सार्वजनिक स्थानमा साना छाप्रा बनाएर बसेको देखेको छु । भारतकै राजधानी नयाँ दिल्लीमा पनि यस्ता बस्तीहरू छन् । नयाँ दिल्लीमा यस्ता बस्तीलाई झुँगी भन्ने गरिन्छ ।

दिल्लीको शादिपुर मेट्रो स्टेसनका आसपासमा निकै बाक्ला झुँगीहरू रहेका छन् । जहाँ कोट तथा पेन्टको खल्ती काट्ने, बसका यात्रुहरूका सामान सफाचट गराउनेलगायत कार्य गर्न रुचाउनेहरूलाई तालिम समेत दिइने गरिन्छ भनी पत्रपत्रिकामा समाचार पढेको छु ।

सजिलैसँग पैसा कमाउने, सहरमा आरामदायी जीवन बिताउन खोज्ने र रचनात्मक कामहरू गर्न नखोज्ने अल्छीहरूको समूह बस्नेहरू नै हुन्छन्, झुँगी र झुपरपट्टीहरूमा ।

भैगो, यस विषयलाई यही छोडिदिऊँ ।

जीपको गति एकदम एक्सप्रेस छ । स्वामी विवेकानन्द रोड पनि एक्सप्रेस हाइवे रहेछ मुम्बईको । एकप्रकार डोरी टाँगेकोे जस्तै सिधा छ हाइवे ।

शान्तक्रुज रेलवे स्टेसन, देब्रेतर्पm जुहु विमानस्थल, भीले पार्ले रेलवे स्टेसन, अँधेरी रेलवे स्टेसनको नजिकैबाट बढिरहेका छाँै, गौतम भाइ र म ।

अँधेरीको यात्रा गरिरहँदा गायक उदितनारायण झा तथा नायिका मनीषा कोइरालाहरू (बलिउडस‘ग गाढा नाता रहेका नेपाली) पनि अँधेरी वेस्टमा बस्ने कुरा बताउन भुल्दैनन् गौतम भाइ ।

अँधेरीको न्यु लिंक रोडमा उदितनारायण बस्छन् भने यारी रोड, भर्सोभामा बस्छिन् मनीषा ।

स्मरणीय छ, उदितनारायण हिन्दी चलचित्रमा गीत गाउने काम गर्छन् भने मनीषा हिन्दी फिल्मकी नायिका हुन् । नेपाली नागरिकहरूले बलिउडमा निभाउन पाएको भूमिकालाई नेपालीले गर्व गर्नैपर्छ ।

यस्तै कुरा मनमा खेलाउँदै यात्रारत छु यस बेला । जोगेश्वरी रेलवे स्टेसनमा आइपुगेपछि गौतम भाइले बताए, यतै नजिकै जोगेश्वरी गुफा रहेको कुरा । सातौँ शताब्दीतिरको पुरानो शाइभेटे टेम्पल भनेर चिनिन्छ । तर, खण्डहरका रूपमा रहेको छ । तैपनि, भगवान् शिवले पार्वतीसँग डाइस खेलिरहेका मूर्तिहरू भने स्पष्ट देख्न सकिन्छ ।

जीप चलाउँदैँ स्थानहरूको परिचय र ती स्थानका ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्वका बारेमा पनि बताउन भुल्दैनन् गौतम भाइ । मलाई धेरै कुराको जानकारी छोटो समयमा बताइरहेकाले धेरै कुराको हेक्का रहन सक्दैन । तैपनि, महत्त्वपूर्ण जानकारी सकेसम्म गुड्दै गरेको जीपमा पनि किरिङमिरिङ अक्षरहरूमा लिपिबद्ध गर्दै जान्छु ।

ओशीवरा भन्ने स्थानमा दौडँदै रहेछौँ यस बेला । त्यसपछि लगत्तै फिल्मस्तान स्टुडियो, बोरीभाली रेलवे स्टेसनलाई पार गरेर दहीसार रेलवे स्टेसनको छेउमा पुग्यौँ । यही समयमा हामीले यात्रा गर्दै आएको स्वामी विवेकानन्द रोडको नाम वेस्टर्न एक्सप्रेस हाइवेमा परिवर्तन भयो र त्यही हाइवे पक्रिएर बेतोडले दौडिरहेको छ जीप ।

दहीसार रेलवे स्टेसन छोडेको केही मिनेटपछि आइपुगियो गोकुल आनन्द होटेलमा । मेरो निम्ति यही होटेलमा बुक गरिएको रहेछ रुम नं. २०३ ।

होटेलमा प्रवेश गर्दा घडीमा आँखा लगाएँ, बिहानको एघार बजेर पैँतालीस मिनेट बित्दै गरेको देखायो घडीले ।

मुम्बई सेन्ट्रल रेलवे स्टेसनबाट जीपले बान्द्रा ओर्ली सी लिंक सकुशल पार गराएर स्वामी विवेकानन्द एक्सप्रेस रोडमा हुइँकिएर आउँदा पनि ठ्याक्कै सवा एक घण्टा लागेछ, शिवबल्लभ रोड, दहीसार इस्टमा अवस्थित होटेल गोकुल आनन्द आइपुग्नलाई ।

होटेलमा पुर्याएर सबै बन्दोबस्त गरिदिएपछि बिदा भए गौतम भाइ । यस्तैमा रेस्क्यु फाउन्डेसनकी सभापति त्रिवेणी आचार्यले फोन गरी ‘आज आराम गर्नुहोस्, भोलि बिहान साढे आठ बजेतिर म लिन आउँछु, त्यसपछि हाम्रो मिसनको काममा लागौँला, आज केही गाह्रो, अप्ठेरो परेमा मलाई सम्पर्क गर्नुहोला’ भन्नुभयो ।

बाहिर सिमसिम पानी परिरहेको छ । असार महिनाको विशेषता नै हो झरी पर्नु । कोठामा चिया मगाएर पिएँ । त्यसपछि नुहाउने काम गरेँ । लन्चको समय पनि भएकोले रेस्टुराँमा गएर सुक्खा रोटी, भात, दाल, पनिरको तरकारी र अचार लिएँ । खाना खाइसकेर वरिपरि घुम्ने विचार गरेँ । किनकि, आज फुर्सद मिलेको छ मलाई । भोलिदेखि कामको चटारो पर्नेछ । जिम्मा लिएर आएको काम पूरा गर्नुपर्नेछ ।

समाजसेवी एवं लेखिका नेपाली मूलकी भारतीय नागरिक कुसुमलता नायडूसँग पश्चिम सिक्किमको गेजिङमा आयोजित ‘लीला लेखन’माथि नभेम्बर १२ र १३, २००५ सम्पन्न संगोष्ठीमा भेट भएको थियो । त्यसपछिका दिनहरूमा पत्र तथा फोनमा कुरा भइराख्ने गरेको थियो ।

दिल्ली आएको समयमा नभेटी मुम्बई नफर्कने गरेकोले फोन सम्पर्क गरेँ । तर, कुसुमलताजी देहरादुनमा बसोबास गर्दै होटेल व्यवसाय गर्ने छोराकोमा जानुभएको रहेछ । उहाँले छोरी उषाको मोबाइल नम्बर उपलब्ध गराउनुभयो ।

उषाजीसँग प्रत्यक्ष सम्पर्क नभएको भए पनि इमेलमार्पmत हामीबीचमा कुरा हुन्थ्यो । उषाजीको छोरीज्वाइँ न्युयोर्कमा बस्ने र छोरीज्वाइँको अतिथि भएर न्युयोर्क जान चाहेकोले के कसरी भिसा मिल्न सक्छ भनी इमेल गर्नुभएको थियो । खासगरी मैले लेखेको अमेरिका जानेहरूका लागि गाइड बुक ‘अमेरिका यात्रा, अध्ययन र इलम’ नामक पुस्तक पढ्नुभएकोले उहाँले जिज्ञासा राख्नुभएको थियो । त्यसैले हल्का परिचय छ उषाजीसँग ।

उषाजीलाई अहिले मुम्बई आएको छु भनेर खबर गरेँ । उहाँले ‘मुम्बई आएको समयमा मेरोमा जसरी भए पनि आउनुपर्छ, मुमा देहरादुनमा हुनुभएकोले भेट हुन सक्दैन, तर म छँदै छु, सम्भव भए लन्च वा डिनरका लागि सम्भव नभएमा कफीका लागि पनि नआई हुँदैन’ भनेर जिद्दी गर्नुभयो ।

म नेपाली दूतावासबाट खटी आएकोले दूतावासले जिम्मा लगाई पठाएको काम प्राथमिकतामा राखी पूरा गर्नुपर्छ । त्यसैले फुर्सद भएको समयमा खबर गरी आऊँला भनी जवाफ फर्काएँ उषाजीलाई ।

यसैबीचमा द युनाइटेड नेपाली अर्गानाइजेसनका सभापति ताराप्रसाद के. शर्मा होटेलमा नै आउनुभयो र ‘फुर्सद भए भानुजयन्तीसम्बन्धी अँधेरीमा मिटिङ छ, त्यतै जाऊँ न सर’ भन्दै अनुरोध गर्नुभयो । म त्यति फ्रेस पनि छुइनँ, आज यतै वरिपरि घुमेर आराम गर्ने विचारमा रहेको कुरा जानकारी गराएँ ।

दिउँसोको एक बजे ताराप्रसादजी बिदा भएर जानुभएपछि छाता बोकेर बाहिरिएँ होटेलबाट । होटेलको केही माथि पानोरमा पार्क रहेछ । केही बेर घुमेँ पार्कमा । अशोक हस्पिटल र शंखेश्वर नगर घुमेर बसपार्कमा गएँ ।  नं. ३०१ र २९८ का बसहरू आआफ्ना रुटमा जानका लागि तयारी अवस्थामा रहेछन् ।

बसको छेउमा उभिरहेको कन्डक्टरसँग सोधेँ, ‘मै दिल्ली से आज सुबह आया हूँ । इसे आसपासका जगह देखने के इरादा मे हूँ । ये बस कौन सा जगह ले जाती है ?’ 
(म आज बिहान दिल्लीबाट आइपुगेको छु । यही वरिपरिका स्थानहरूबारे बुझ्न र हेर्न चाहन्छु, यो बसले कुन स्थानतिर लैजान्छ ?)

‘कैसे जगह देखने हो ? देख्ने के लिए सञ्जय गान्धी नेसनल पार्क भी है । यहाँ से नजदीक के देखने चीज ओही हैँ ।’ 
(कस्तो स्थान हेर्न चाहन्छौ ? हेर्नका लागि त सञ्जय गान्धी नेसनल पार्क पनि छ । यहाँबाट नजिकको हेर्न लायक ठाउँ त्यही हो ।)

‘ठिक हैँ । ओही देख के वापस आउंगा मै ।’ 
(ठिकै छ । त्यही स्थान अवलोकन गरी फर्कूंला म ।)

‘बराबर ।’ कन्डक्टरले छोटो जवाफ दिए । 
(हुन्छ नि ।)
(स्मरणरहोस् कि मुम्बईमा ‘ठिक छ’ वा ‘त्यही हो’ भन्नुको सट्टा बराबर शब्दको प्रयोग हुने गर्दछ ।)

‘बस का किराया कितना लागेगा ?’ 
(बसको भाडा कति लाग्छ ?)

‘तीन रुपयेँ ।’ 
‘कौन सी बस जायेगी ?’
(कुनचाहिँ बस जाने हो ?)

‘२९८ नम्बर की बस । ओ सामने मे खडी है । टिकट ले लो । और अन्दर जा के बैठो ।’ 
(२९८ नम्बरको बस अगाडि उभिएको छ । टिकट काउन्टरबाट लिनु । अनि, बसमा गएर बस्नु ।)

कन्डक्टरको सुझावानुसार टिकट लिएर बसमा चढेँ । खालीखाली नै छ बस । केही समयपछि नै बस गुड्न थाल्यो ।

अशोक वन केसरी नगरलाई पार गर्दै साइबाबा मन्दिरछेवैबाट दौडिरहेको छ बस । पानी सिमसिम पर्दै छ । मान्छेहरू छाता ओढेर आफ्ना गन्तव्यलाई छोट्ट्याइरहेका छन् । सडकको किनारतिर माछा बेच्ने महिलाहरू लस्करै बसेका छन् । लाग्छ, मुम्बईमा माछा बेच्ने काम महिलाहरूको मात्रै हो !

फलपूmल बेच्ने पसलमा साइनबोर्ड तन्द्रङ्ङ झुन्डिएको छ र त्यसमा उल्लेख गरिएको छ, ‘उसाचा (ऊखु) रस ग्लास रु. ५/–, हाफ ग्लास रु. ३/–, मोसम्बी (मौसम) रस ग्लास के रु. १५/–’ आदि ।

बोरीभाली क्षेत्रमा नै दौडिरहेको छ बस । ओर्यापाडा भएर कृष्णनगर बसस्टपमा पुगेर रोकियो । केही यात्रुहरू ओर्लिए र केही नयाँ यात्रुहरू भित्रिए बसमा ।

यही स्टपमा नं. ४४० को बस आइपुग्यो । अँधेरी इस्टबाट बरौली चल्ने रहेछ । अर्को बस नं. २२५ पनि आएर रोकियो सामुन्नेमा । यो अँधेरीदेखि बान्द्रा चल्ने रहेछ । बसको अगिल्तिरको माथिल्लो भागमा डिस्प्ले भइरहेको सूचनाले अवगत गराइरहेछ मलाई । यी सबै कुराहरू नियालेर नोटकपीमा सार्छु थपक्क ।

केही समयपछि मैले चढेको बस दक्षिण पूर्व दिशामा हुइँकिन थाल्यो । मेरै सिटको नजिकमा बस्ने अधबैँसे पुरुषसँग सञ्जय गान्धी नेसनल पार्क घुम्नका लागि कुन स्टेसनमा ओर्लनुपर्छ भनेर सोधेँ । अब आउँदै गरेको स्टेसन थाम्बा गेटकै सामुमा पर्ने भएकोले त्यही स्टेसनमा ओर्लन सुझाव दिए उनले ।

दिनको दुई बजेर बीस मिनट जाँदा पुग्यो बस थाम्बा स्टेसनमा । बसबाट ओर्लिएँ । र, पार्कको प्रवेशद्वारतिर लम्किएँ । प्रवेश शुल्क भारु २० भुक्तानी गरेँ । फोरेस्ट डिपार्टमेन्ट गभर्नमेन्ट अफ महाराष्ट्र लेखिएको नं. ०७२३३९३ को स्लिपमा कम्प्युटर प्रिन्ट गरी क्यासियरले दिए प्रवेश टिकट ।

टिकट लिएर छेवैमा टाँसिएको सूचनापाटीलाई नियालेँ र त्यहाँ निम्न जानकारीहरू उल्लेख गरिएको थियो–

‘इन्ट्री फर टाइगर एन्ड लाइन सफारी भा.रु. ३०/– (आधा घण्टाका लागि), बोट राइड्स फी फर पर पर्सन पर मिनट भा.रु १/–, भिजिटिङ आवर्स ०७३० टु १८३० आवर्स, डेज ह्वेन क्लोज्ड–मन्डे ।’

यिनै जानकारी नोटकपीमा उतारेर भित्रिएँ पार्कमा । घनाजंगल र सानातिना पहाडहरू देखियो, हिँड्ने ट्रयाककै छेउमा । फिस्टा, कागलगायत कैयौँ अचिनारु पक्षीहरूको स्वरले गुञ्जयमान छ पार्क । ट्रयाककै छेउको तलाउमा बल्छी खेलिरहेका छन्, कतिपय मान्छेहरू । मिनेटको भारु एक तिरेर नौकाबिहार (डुंगा सयर) गर्ने सुविधा रहेछ र मान्छेहरू नौकाबिहार गरिरहेको पनि देखिन्छ ।

निर्मल पानीको झरना झरिरहेको पोखरीमा युवाहरू माथिबाट हामफालिरहेका पनि देखिन्छन् । हरियो चौरमा बसेर लन्च खानेहरूको रमाइलो हुल पनि देखिन्छन् यत्रतत्र । आनन्दको खोजीमा रहेका र खुसीका क्षणहरू बिताउन चाहनेहरूका लागि यो पार्क निकै नै राम्रो स्थल हो भन्ने लाग्यो मलाई ।

बिहानीको समयमा आएर दिनभरि घुमफिर गर्ने हो भने प्राचीन गुफा, जैन मन्दिर, बाघ तथा सिंह, विविध चराचुरुंगीहरू र वनस्पति, तालतलैया, छहरा आदि प्राकृतिक सुन्दरतालाई चुम्न सकिने प्रचुर सम्भावना रहेको कुरा थाहा पाएँ ।

तर, आफूसँग पर्याप्त समय नभएकोले करिब दुई घण्टा पार्कभित्र घुमी चित्त बुझाएर फर्किन बाध्य छु म ।

पार्कबाट बाहिरिँदा बेलुकीको चार बजिसकेको छ । बाहिरिएपछि बस स्ट्यान्डछेउमा रहेको जुस पसलबाट एक ग्लास लस्सी १५ रुपैयाँमा खरिद गरी पिएँ । अलिअलि लागेको भोक र तिर्खा मेटाइदियो लस्सीले । लस्सी पिएर देवसदन सोसाइटी, एमजीरोड, बोरीभालीको श्री साई स्टेसनर्स गएर एउटा ८० पाना भएको क्लासमेट नामक नोटबुक भारु १० मा किनेँ ।

भोलिदेखि नेपालीहरूको समस्याबारे टिपनटापन गर्नुपर्ने भएकाले नोटकपी किन्नु जरुरी थियो भने बोरीभालीको चिनो पनि हुन्छ भन्ने लागेर सम्झेको बेलामा खरिद गर्ने काम गरेँ ।

यस्तैमा चार बजेर पैँतीस मिनेट जाँदा आइपुग्यो २९८ नम्बरको बस । त्यसैमा भित्रिएर आफ्नो वासस्थान रहेको गोकुल आनन्द होटेलका लागि यात्रामा जुटेँ । मुम्बईको पहिलो दिनको रमाइलो यात्रा आनन्दको अनुभूतिभित्र हराएर जुटिरहेँ विभिन्न यात्रुहरूको भीडमा एक्लो यात्री भएर ।

सत्र बजेर दश मिनेट जाँदा गोकुल आनन्द होटेलमा पुगेँ म । मुम्बईमा विभिन्न काम गर्दै बस्दै आउनुभएका र नेपाली संघ–संस्थासँग आबद्ध हुनुभएका सर्वश्री भरत के. रावल, चन्द्रबहादुर थापा, डीपी रावल आउनुभयो ।

चिया पिउँदै मुम्बईमा बस्ने नेपालीहरूले भोग्नु परिरहेका पीडा तथा समस्याहरूका सम्बन्धमा लामै कुराकानी भयो । उहाँहरूले नेपाल सरकारको उपस्थिति भारतकै आर्थिक र मनोरञ्जनको राजधानीको हैसियत राख्ने सहरमा हुनु नितान्त जरुरी छ भन्ने आशय व्यक्त गर्नुभएको कुरालाई ध्यानपूर्वक सुनेँ । र, उहाँहरूका सुझावलाई सम्बन्धित निकायसम्म पुर्याउने आश्वासन दिन पछि परिनँ म ।
०००
२०६६ सालको असार २९ अर्थात् जुलाई १३, २००९ को बिहानी ।

नयाँ दिल्लीबाट प्रस्थान गरेको पनि तीन दिन भइसक्यो । आजबाट कामको चाप बढ्नेछ । साढे नौ बजे बिहान रेस्क्यु फाउन्डेसनकी सभापति त्रिवेणी आचार्यले होटेलमा नै लिन आउँछु भनी खबर गरिसक्नुभएको छ । बिहानको नास्ता गरेपछि होटेलछेवैको बजार गणेशनगर गई पान अर्डर गरेँ । मुम्बईमा पान बनाउँदा सोध्ने रहेछन् कच्चा सुपारी कि पक्का भनेर । पक्का सुपारीकै बनाइदिन अनुरोध गरेँ । पानको चार रुपैयाँ भुक्तानी गरी अलिकति अगाडि बढेँ, घर्तन पाडा रोडतिर ।

त्यसपछि सुहासिनी पावस्कर रोडमा हिँड्दै गर्दा एक्कासि बर्सात हुन लाग्यो । अचम्मैको रहेछ यहाँको वातावरण । दिल्लीमा यी दिनहरूमा एयर कन्डिसन नभई टिक्नै गाह्रो । तर, मुम्बईमा एयर कन्डिसनको कामै रहेनछ आजकल । विस्तारै होटेलतिर फर्किएँ । किनकि, नौ बजिसकेको छ यस बेला ।

त्रिवेणीजी र चालक गौतम निश्चित समयमा नै आइपुग्नुभयो, गोकुल आनन्द होटेलमा ।

आजको कार्यक्रममा सर्वप्रथम रेस्क्यु फाउन्डेसनमा जाने र त्यहाँको गतिविधि अवलोकनका साथसाथै अध्ययन गर्ने, तत्पश्चात् सहर विमानस्थलको स्थलगत भ्रमण गर्ने, बाइकुला जेल क्लियर रोडमा गई त्यहाँका सम्बन्धित अधिकारीहरूसँग सम्पर्क गरी फर्कने कार्यक्रम रहेको कुरा जानकारी गराउनुभयो त्रिवेणीजीले ।

कार्यक्रमनिश्चित भएअनुसार शिवबल्लभ रोडस्थित होटेल गोकुल आनन्दबाट रेस्क्यु फाउन्डेसनको कार्यालय रहेको स्थान वा कान्दीभालीको प्लट नं. ३९, लेडी फतिमा रोड, पोइन्सुरतर्पm सोझियौँ हामी ।

गौतम भाइले जीपको कमान्ड सम्हाल्नुभएको छ । बाटोमा त्रिवेणीजीले रेस्क्यु फाउन्डेसनको स्थापनाबारे छोटकरीमा बताउनुभयो— मेरो पति बालकृष्ण आचार्य गुजरातमा जन्मेर हुर्किनुभएको हो । उहाँ अध्ययनपश्चात् भारतीय सैनिकमा आबद्ध हुनुभएको थियो । सानैदेखि अन्याय र अत्याचारका विरुद्ध जुझ्ने स्वभावको हुनुहुन्थ्यो ।

सैनिक सेवाकै समयमा एकपटक मुम्बईको वेश्यालय कमाठीपुराको नजिकैबाट सन् १९९५ को कुनै एक दिन हिँडिरहँदा एकजना नेपाली बालिका चिच्याइरहेको सुनेर बेचैन बन्नुभयो । करिब दुई दिनसम्म त सुत्नै सक्नु भएन । त्यसपछि आफ्नो फुर्सदको समयमा वेश्यालयमा बेचिएका अवलाहरूलाई रेस्क्यु गर्ने निधो गर्नुभयो । त्यहीअनुरूप फुर्सद भयो कि साँझपखतिर कमाठीपुरातर्पm जाने गर्नुभयो ।

यसैबीचमा बेचिएकी एक युवतीलाई उद्धार गर्ने क्रममा उद्धारित युवतीले समाजमा पुरानै मान र इज्जतले बाँच्ने इच्छा व्यक्त गरिछन् । यस्तैमा अन्य पाँचजना युवतीहरू समेत उद्धारित हुन तयार भएकाले सो कामका लागि प्रहरी र अन्य समाजसेवीहरूको साथ लिएर उद्धार कार्य गर्नुभएको रहेछ ।

सुरुमा माइती नेपालको नाममा संस्था नामकरण गरी चलाएकोले केही आर्थिक सहयोग पनि माइती नेपालबाट प्राप्त हुने गरेको थियो । तर, उक्त नाम कुनै एक देशसँग मात्र सम्बन्धित देखिन गएको र जबर्जस्ती बेचिने युवतीहरूमा भारतीय तथा बंगालीहरू समेतको उद्धार गर्नुपर्ने आवश्यकता थियो । त्यसैले सन् २००० मा नन गभर्नमेन्टल अर्गनाइजेसनका रूपमा रेस्क्यु फाउन्डेसनको स्थापना गरी सञ्चालन गर्दै आएको कुरा बडो भावुक हुँदै बताउनुभयो ।

उहाँले अझै सुनाउनुभयो— यस्तैमा दुर्भाग्यवश सन् २००५ मा कार दुर्घटनामा परी बालकृष्णजीको देहावसान हुन गयो । उहाँको देहावसानपश्चात् सहसभापतिका रूपमा रहेकी मैले पतिको सेवाभावको कामलाई निरन्तरता दिइरहेको छु । एकप्रकार सहयात्री गुमाउँदाको पीडालाई अवला नारीहरूको उद्धार गर्दाको क्षणले सँगसँगै रहेको आभास पाउने गरेकी छु । मैले पनि पत्रकारिताबाट जीवन आरम्भ गरेकीले प्रहरी, प्रशासन, समाजसेवीहरूसँगको सम्पर्कले गर्दा पनि मलाई सजिलो भएको छ ।

यस संस्थाले भारत, नेपाल तथा बंगलादेशका वेश्यालयमा बेचिएका वार्षिक ३०० जति महिलाहरूको उद्धार गरिसकेको र पुनःस्थापनार्थ सम्बन्धित देशहरूमा पठाउने कार्य गरिरहेको उहाँले जानकारी गराउनुभयो ।

‘आप्mनो वा मेरो भन्नै नै सेल्टरमा बसिरहेका अवला नारीहरू हुन् । त्यसभन्दा अरू कोही नभए पनि एउटी छोरी छे काखमा लिएको (अर्थात् अरूकै सन्तानलाई धर्मपुत्रीको रूपमा स्वीकारेको) । यसरी संस्थाको हर्ताकर्ता भएर यिनै दीनदुःखीको आँसु पुछ्नेबाहेक अरू स्वार्थ छैन । त्यसैले संस्थाप्रति आममान्छेको विश्वास छ । भरोसा छ । सहयोगी हातहरू छन् । यही क्रम र उपक्रमले समष्टिमा फाउन्डेसन चलिरहेको छ ।’

यस्तैमा रेस्क्यु फाउन्डेसन रहेको स्थानमा आइपुग्यौँ हामी । जीप रोकिएपछि फाउन्डेसनको कार्यालय, सेल्टरलगायत अन्य व्यवस्थापकीय पक्षहरूको अवलोकन गर्ने काम गरियो ।

धेरै बेर अलमल नगरी फाउन्डेसनको कार्यालयबाट बिहानको ११ बजे लेडी फतिमा रोड, कान्दीभाली (पश्चिम)बाट शान्तक्रुजमा अवस्थित एवम् भीले पार्ले र अँधेरीको नजिक रहेको सहर अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रस्थान गर्यौँ । त्रिवेणीजी, उहाँका कानुनी सल्लाहकार तथा मुम्बई उच्च न्यायालयका अधिवक्ता हरिश पी. भण्डारी र म । त्रिवेणीजी र म जीपको पछाडिको सिटमा बस्यौँ भने अधिवक्ता हरिश चालकसँगैको सिटमा बस्नुभयो ।

गौतम भाइले जीपलाई लेडी फतिमा रोडबाट अलिकति दायाँबायाँतर्पm बढाएर स्वामी विवेकानन्द रोडमा भित्र्याएर दक्षिणतर्पm बढाउन थाले ।

मलाड वेस्ट, गोरेगाउँ मुलुन्ड लिंक रोड, गोरेगाउँ वेस्ट, जोगेश्वरी वेस्ट, जोगेश्वरी रेलवे स्टेसन, अँधेरी इन्डस्ट्रियल एरियालाई पार गर्दै बतासजस्तै हुइँकिइरहेको छ जीप । त्रिवेणीजीले रोडका वरिपरिका स्थानहरूका बारेमा बताइरहनुभएको छ मलाई ।

एकदम रमाइलो लागिरहेको छ स्वामी विवेकानन्द रोडमा गरिरहेको यस क्षणको यात्रा । धेरै जानकारी दिइरहनुभएको छ त्रिवेणीजीले । तर, मैले मुख्यमुख्य स्थानहरूको नाम नोटबुकमा उतार्दा कति सुन्न सकेँ, कति सुनेर मात्र छाडिदिएँ । किनकि, नयाँ स्थानका दृश्यहरू टिप्नमा नै व्यस्त भए आँखाहरू ।

कुन चिज नोटकपीमा उतार्ने हो, त्यसैमा केन्द्रीत गर्दैमा व्यस्त भयो मस्तिष्क । केवल शब्दहरू सुन्ने मात्र काम गरे कानहरूले । त्यसलाई नोटकपीमा उतार्न असफल भएँ म ।

आकर्षक दृश्यहरू छरपस्ट छन् सडकका वरिपरि । अग्लाहोचा, कलात्मक र सुन्दर भवनहरू छन् । आकर्षक ढंगले सजिएर उभिएका छन्, ठूला व्यापारिक भवन तथा स्थलहरू । एकै समयमा देखिएका विभिन्न दृश्यहरूलाई स्मरण गर्न पनि कठिन भएको छ मलाई । दायाँतर्पm हेरौँ कि बायाँतर्फ वा सिधै अगाडि । छोडिएका स्थानहरूबारे स्मरण गरौँ कि त्रिवेणीजीका कुरा सुनौँ । या गौतम भाइले बेतोडले कुदाएको जीपमा ध्यान केन्द्रित गरौँ, अचम्ममा परेको छु म ।

सास नियमितभन्दा बेग्लै किसिमले लिइरहेजस्तै अवस्थामा छु । कुनै बेला सासै फेर्न बिर्सिएको जस्तै आभास गरिरहेको छु । अर्थात्, श्वासप्रश्वासमा कठिनाइ भएको जस्तै अनुभूति भइरहेको छ, मुम्बईको भूमिमा यात्रारत रहँदा ।

यसै क्षणमा भीले पार्लेमा दौडिरहेको छ जीप । भीले पार्ले वेस्टमा रहेको मिथिभाइ कलेजलाई पार गरेर जुहुको नजिकै पुगी शान्तक्रुु इस्टमा अपराह्न बाह्र बजे आइपुगेका छौँ । सन् १९४२ देखि सञ्चालनमा आएको सहर अन्तर्राष्ट्रिय विमानस्थल वा छत्रपति शिवाजी इन्टरनेसनल विमानस्थलमा । यसलाई मुम्बई विमानस्थलका नामले पनि चिन्ने गरिएको छ ।

विमानस्थलमा हवाईजहाजहरू उडान भर्ने र अवतरण गर्नमा व्यस्त रहेका छन् । घारघुर, साइँसुइँ, सननजस्ता आवाजले भरिएको छ वातावरण । त्रिवेणीजीले पहिले नै प्रहरी प्रशासनसँग समय लिनुभएकोले सरासर सहर प्रहरी स्टेसनमा गयौँ ।

त्यहॉ स्टेसन हाउस अफिसर दिलीप पाटिल, इन्स्पेक्टर मारुती यादव तथा सबइन्स्पेक्टर शंकर योरमसँग भेट गरी खासगरी नेपाली महिलाहरूलाई हिरासतमा लिनुपर्ने कारणबारे सोधपुछ गर्ने कार्यमा केन्द्रित रह्यौँ ।

साथै, सहर प्रहरी पोस्टले नेपाली राजदूतावासबाट कस्तो सहयोगको अपेक्षा राखेको छ भनेर जिज्ञासा पनि राखेँ मैले ।

सो सम्बन्धमा सहर प्रहरी स्टेसनका स्टेसन हाउस अफिसरको यस्तो भनाइ रह्यो, ‘विभिन्न कारणबाट र विशेष गरी खाडी क्षेत्रमा उडान भर्न चाहनेहरूका राहदानीहरू शंकास्पद हुने गरेको पाइएको छ । त्यसैले अधिकांश नेपाली नागरिकलाई हिरासतमा लिइने गरिएको छ । सोको सत्यतथ्य पत्ता लगाई हिरासतमुक्त गर्न वा मुद्दा चलाउनका लागि प्रमाणीकरण (भेरिफिकेसन)को आवश्यकता पर्ने हुन्छ । सो कार्य दूतावासबाट सम्भव भएसम्म छिटो गरिदिएमा मुद्दा छिटै किनारा लाग्ने हुन्छ । राहदानी प्रमाणीकरणकोे प्रक्रियामा गतिशीलता आई सोको प्रतिवेदन यस प्रहरी पोस्टमा चाँडै आउन सके अज्ञानतामा फसेका पुरुष तथा महिलाहरू छिटै जेलमुक्त गरिने सम्भावना रहन्छ ।

साथै, सन् २००८ देखि नेपाली महिलाहरूलाई विदेशी महिलाको दर्जामा राखी जमानी/जमानतमा छुटाउने प्रावधान अदालतले हटाएको छ । नेपाल तथा भारतबीच खुला सिमाना रहेको तथ्यको स्मरण गराउँदै कुनै नेपाली नागरिक भारत आउँदा प्रवेशाज्ञा लिन नपर्ने प्रावधान रहेको र त्यसरी नै कुनै पनि भारतीय नागरिक नेपाल प्रवेश गर्नको लागि प्रवेशाज्ञा लिन नपर्ने भएकोले पनि भारतीय र नेपाली नागरिकहरू समानजस्तै देखिन्छन् । तर, प्रमाणहरू जुटाउन र प्राप्त प्रमाणलाई प्रमाणीकरणमा विलम्ब नभएमा छिटोछरितो किसिमले पैmसला गर्न सम्भव हुने थियो ।’

स्टेसन हाउस अफिसरको सुझावलाई मनन गर्दै मैले जवाफ दिएँ, ‘भारत आउन प्रवेशाज्ञा लिनपर्ने देश नेपाल रहेको छ । तर, प्रवेशाज्ञा लिएर मात्र आउन पाउने बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिकहरूलाई जस्तै व्यवहार गरिन नहुने, पक्राउमा परेका नेपाली नागरिकहरूको राहदानी प्रमाणीकरणका लागि सहर प्रहरी स्टेसनले सक्कलै राहदानी पठाउने गरिएको छ । त्यसको सट्टा स्पष्ट पढ्न सकिने ब्ल्याक एन्ड ह्वाइटमा फोटोकपी गरी पत्रका साथ राहदानीको कफी पठाएमा पर्याप्त हुनेछ । (स्मरण रहोस्, हालसम्म छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका – खासगरी जाली राहदानीको मुद्दामा, नेपाली नागरिकहरूको राहदानी प्रमाणीकरणका लागि सक्कलै राहदानी पठाउने गरेको छ ।)

यसरी पठाउँदा बाटोमा राहदानी हराउन सक्ने वा बेठेगान (मिसप्लेस्ड) भएर अलपत्र हुन सक्ने सम्भावना रहनुका साथै पठाउन समेत बढी खर्च लाग्ने देखिएको छ । त्यसैले अबदेखि राहदानीको फोटोकपी मात्र पठाइदिए पर्याप्त हुन्छ ।’

मेरो अनुरोधलाई स्वीकार गर्ने काम गर्नुभयो सहर प्रहरी अधिकारीहरूले । त्यसरी नै जाली राहदानीको मुद्दामा पक्राउ परी थुनामा रहेकाहरूलाई थुनामुक्त गराउने सन्दर्भमा फर्स्ट इन्फरमेसन रिपोर्ट तथा अन्य कागजात आदि उपलब्ध गराई सहयोग गर्नका लागि अनुरोध गरेँ ।

यस सन्दर्भका कागजात जुन जेलअन्तर्गत थुनामा रहेका छन्, त्यहीँबाट उपलब्ध हुन सक्ने कुरा अवगत गराए । यदि, त्यस्ता कागजात त्यहाँबाट उपलब्ध हुन नसके सहयोग चाहिएमा सहर प्रहरी स्टेसन सहयोग पुर्याउन तयार रहेको कुरा समेत निज अधिकारीहरूले भेटको समयमा बताउनुभयो ।

सहर प्रहरी स्टेसनका अधिकारीहरूसँग करिब पौने घण्टाजति सौहार्दपूर्ण वातावरणमा कुरा गर्दै जानकारी लिने काम भयो । नेपाली दूतावासको तर्पmबाट भ्रमण गरी जानकारी लिएकोमा खुसी व्यक्त गर्नुभयो, स्टेसन हाउस अफिसर दिलीप पाटिलले ।

पौने एक बजे अर्थात् १२ः४५ बजे सहर विमानस्थलबाट बाइकुला जेल, बाइकुला रोडको स्थलगत अवलोकन भ्रमण तथा थुनुवाहरूसँग भेट गर्नका लागि प्रस्थान गर्यौँ ।

विमानस्थलस्थित प्रहरी कार्यालयका पदाधिकारीसँग बिदा भएर पुनः स्वामी विवेकानन्द रोडलाई समातेर दक्षिणतर्पm हान्नियो जीप । विमानस्थलको भीडभाड र हल्लाखल्लाबाट मुक्त हुँदै बस, जीप, कारहरूको भीडमा तँछाडमछाड गर्दै दौडिन थाल्यो हामी बसेको गाडी ।

खार, बान्द्रा, माहिम, शिवाजी पार्क, जीमखाना, दाँदर, वोर्ली, लोअर प्यारेललाई पार गर्दै एनएम जोशी मार्ग भएर बढिरहेको छ जीप । तर, ट्राफिक जाममा परेर हैरानको स्थितिमा गुज्रिनु परिरहेको छ ।

जेजस्तो परिस्थितिको सामना गर्नुपरे पनि मुम्बईको यो यात्रा आनन्दमय भएर बितिरहेको छ । जता हेरे पनि नयाँ दृश्य । कतिपय सुन्दर र आकर्षक दृश्यहरू छुटिरहेका छन् । सरसर्ती हेर्नेबाहेक अरू केही छैन । जता हेरे पनि हेरी पठायो । एकप्रकार लाटाले पापा हेरेजस्तै । देखिस् देखेँ भन्ने घमण्डले भरिएको बेलुनजस्तै । पुगिस् पुगेँ भन्ने अहंकारी जवाफजस्तै ।

अधिवक्ता हरिश पी. भण्डारीले मुम्बई विमानस्थलका बारेमा बताउनुभयो मलाई, ‘यो विमानस्थल एकदम व्यस्त विमानस्थलमध्येमा पर्दछ । यहाँ आउने–जानेका सुविधाका लागि पाँचतलाको पार्किङ भवन निर्माण गरिएको छ । आधा घण्टा पार्क गरेमा भारु ११०/– लिइन्छ । कारको पार्किङ क्षमता पाँच हजार रहेको छ ।

दुईवटा टर्मिनल रहेको विमानस्थलमा एक टर्मिनलबाट अर्को टमिनल पाँच किलोमिटरको दूरी रहेको छ र पब्लिक ट्रान्सपोर्टबाट यात्रा गर्दा तीनदेखि चार घण्टासम्म लाग्ने गर्छ । खासगरी टर्मिनल एकलाई डोमेस्टिक र टर्मिनल दुईलाई अन्तर्राष्ट्रियका रूपमा प्रयोग गरिने भनिए पनि कहिलेकाहीँ दुवै टर्मिनललाई दुवै सेवाका लागि प्रयोग गरिंदै आएको छ ।

शान्तक्रुज एयरपोर्टलाई डोमेस्टिक वा टर्मिनल एक र सहर एयरपोर्टलाई टर्मिनल दुई भनेर भनिन्छ मुम्बईमा । टर्मिंनल एकबाट टर्मिनल दुईमा सेडान कारबाट जाँदा भारु २४५/– र एसयूभीबाट जाँदा भारु ७००/– तथा टर्मिनल दुईबाट टर्मिनल एक सेडान कारको भारु २३०/– तथा एसयूभीको  भारु. ७५०/– लिने गरेको छ । विदेशी यात्रीहरूको सुविधाका लागि टर्मिनल एकमा फोन ः ८७ ७ ३५ ०० २१ तथा टर्मिनल दुईमा फोन ०२२ ६५ ८८ २६ ७२ मा फोन गरेर सेवा लिन सकिने सुविधा रहेको छ ।’

मलाई भने अलिक अचम्म लाग्यो । कसरी हुनसक्छ समान दूरीमा यात्रा गर्दा भाडादरमा फरक ? अन्तर्राष्ट्रिय टर्मिनलमा उत्रने व्यक्तिहरूको क्षमतालाई आकलन गरेर भाडादर कायम गरिएको हो कि जस्तै लाग्यो कताकता । तर, यस्तो पनि सम्भव हुन्छ र भन्ने लाग्यो । हुन पनि निकै कौतूहल जाग्यो, हरिशजीको कुरा सुन्दा ।

यस्तैमा मुम्बईको नाममा कलंकको दाग लगाउने स्थान कमाठीपुरामा आइपुगेछौँ यस बेला । धेरै कथाहरू सुनेको छु मैले कमाठीपुराको बारेमा । नेपालबाट बेचिएका चेलीहरूको दर्दनाक कथा पढेको छु । शक्ति समूह स्थापना गरेर सोसियल एक्टिभिस्टका रूपमा सुपरिचित चरीमाया तामाङ तथा सुनीता दनुवारहरूका चित्कार सुनिरहेझँै लाग्यो मलाई कमाठीपुराको छेउमा जीपबाट यात्रा गरिरहँदा पनि ।

कमाठीपुराबाट बेलासिस रोड हुँदै बाइकुला जेलतर्पm लाग्यौँ । दिनको १४ः३० बजे पुग्यौँ बाइकुला जेल परिसरमा । दुई बजेदेखि चार बजे अर्थात् १६ः०० बजेसम्म लन्च आवर हुनाले जेल अधिकारीहरूसँग अहिले भेट गर्न नसकिने कुराको जानकारी गराए जेल गार्डले । हामीले पनि समयको सदुपयोग गर्न लन्चका लागि बाहिरियौँ जेल परिसरबाट ।

‘आजको लन्च गुजराती थाली चखाउनुपर्छ मिस्टर राईलाई’ भनी त्रिवेणीजीले भन्नुभयो । त्यसपछि गौतम भाइलाई डुनकान रोड, लाडी बजार, गोलदेवल टेम्पलस्थित आदर्श हिन्दु लज तथा डाइनिङ हलमा लैजान भन्नुभयो । सोहीबमोजिम गौतम भाइले पुर्याउनुभयो गोल देवल टेम्पलअगाडि रहेको डाइनिङ हलमा ।

सहरको बीचमा गोलाकार रूपमा बनेको मन्दिर देख्दा निकै खुसी लाग्यो मलाई । चार तलाको गोलाकार मन्दिरको चौथो तलामा होचो पर्खाल लगाएर छततिरको भाग पनि तलतिर झारेर बीचको भाग खुला छोडिएको रहेछ । मुख्य मन्दिरअगाडिको भागमा चारवटा विशाल खम्बाहरू उठाई मन्दिर प्रवेशद्वार बनाइएको छ । त्यसको माथि आकर्षक र कलात्मक तरिकाले मूल मन्दिरको तेस्रो तलाको समानान्तर तलाकै रूप दिई चौथो तलाको खुला बरन्डा निर्माण गरिएको रहेछ ।

मूल मन्दिरको टुप्पोमा तामाको अग्लो त्रिशूल र त्यसमा धातुकै नेपालको झन्डा आकारको झन्डा राखिएको रहेछ । त्यही मूल मन्दिरकै अर्को सानो छतमा पनि अग्लो त्रिशूल र हलुका पहेँलो धातुको झन्डा राखिएको छ । देवलको प्रवेशद्वारबाट उठाइएको छतमा भने त्रिशूल आदि राखिएको छैन । वास्तवमा गुजराती थालीको चाहनाभन्दा पनि मेरो मन गोल देवल टेम्पलले बढी नै आकर्षित गर्न पुग्यो ।

एउटा टेबलमा त्रिवेणीजी, अधिवक्ता हरिश पी. भण्डारी र म बसेका छौँ । छेउको अर्को टेबलमा गौतम भाइ । आजको मेनु गुजराती थाली हो । किनकि, आफ्नो जन्मस्थल गुजरातमा भएकोले मिस्टर राईलाई स्वाद चखाउनैपर्छ भनी त्रिवेणीजीले भन्नुभयो । थालीमा भन्टालाई मेथीको पातसँग पकाएको सब्जी, गुलियो र अमिलो मिलाएर पकाएको दाल, हरियो सब्जीहरूलाई मिश्रित गरी पकाई पालुंगाको पेस्ट गरिएको, भिन्डी वा रामतोरियाको सब्जी, आलु र गोलभेडा मिसाएर तयार पारिएको पातलो करी, बासमती चामलको भात, खिचडी, सुक्खा रोटी, सलाद, पापड, तारेको हरियो खुर्सानी, मिठाई र विविध चटनीहरू समावेश भएका छन् । खानाको अन्त्यमा सखर र देशी घिउ लिएपछि गुजराती थालीको स्वाद पाइन्छ ।

थालीका बारेमा बताउँदा बताउँदै टेबलमा आइपुग्यो गुजराती थाली । स्टिलको गोलाकारको ठूलो थालमा आठ–नौवटा स्टिलका कचौरामा सजाएर ल्याएका छन् बेराहरूले । आकर्षक सजावटले नै लोभियो मन । झन् भोजन गर्दा त गुजराती थालीको स्वाद जिब्रोमा नै टाँसियो । तारेको हरियो खुर्सानी मेरो प्रिय भएकोले पनि थालीको महत्त्व हुने नै भयो ।

सबैजनाले बडो स्वाद मान्दै गोल देवलको सौन्दर्यलाई नियाल्दै परिकारहरू खपाखप खायौँ । बिहान ब्रेकफास्टमा स्यान्डबिच र फलपूmल खाएपछिको समयसम्म चिया र कफी पिउनेबाहेक केही पनि नखाएकोले भोक पनि लागिरहेको थियो । त्यसैले पनि थाली लिँदाको मज्जा र स्वाद अत्यन्तै मिठो हुन गएको छ । थालीका कचौरीमा एब्स्ट्रयाक्ट आर्टजस्तै सजाएर ल्याएका खानाको स्वाद आँखाले लिँदैमा रमाएका छौँ हामी । त्यसैले स्वादको वर्णन गरेर साध्य छैन यस बेला ।

आदर्श हिन्दु लज तथा डाइनिङ हलमा खाना खाने क्रममा अधिवक्ता हरिश पी. भण्डारीले लाडी बजारको एउटा छेउतिर औल्याउँदै भन्नुभयो, ‘मिस्टर राई, त्यही जगह हो, अपराधजगत्मा हलचल मच्चाउने दाउद इब्राहिमले बाल्यकालमा बिताएको ठाउँ । उनका पिताजी इब्राहिम कास्कर मुम्बई प्रहरीमा हवल्दार (हेड कन्स्टेबल) पदमा कार्यरत थिए ।

डिसेम्बर १९५५ मा जन्मिएका दाउद इब्राहिम कास्करले पढाइमा ध्यान नदिएकाले स्कुलका ड्रपआउट विद्यार्थी थिए । पढाइ छोडेर आवारा केटाहरूका साथमा सानातिना स्मगलिङ गर्ने, ठगी गर्ने र लुटपाट गर्नेतिर लागेर समय बिताउने गर्दथे । यसैक्रममा तत्कालीन अन्डरवर्ल्ड तस्कर हाजी मस्तानसँग भेट भएपछि १९ वर्षको उमेरदेखि नै अन्डरवर्ल्डको सदस्यता लिएका थिए । त्यसपछि मुम्बईका ठाउँठाउँमा विभिन्न आपराधिक आतंक मच्चाउने कार्यमा सक्रिय भए । सन् १९७० मा आफ्नै दाइ शाबिर इब्राहिम कास्करसँग मिलेर दाउड कम्पनी ऊर्पm डी कम्पनी खोल्ने काम गरे । उक्त कम्पनीमार्फत अन्तर्राष्ट्रिय ड्रग ट्राफिकिङ, हातहतियार ओसारपसार तथा नक्कली नोट बनाउने धन्दातिर लागे । डी कम्पनीको तीन महादेशका २५ देशहरूसम्म सञ्जाल पैmलाएर कुख्यात अन्डरवर्ल्ड माफिया बनेका इब्राहिमले बाल्यकाल यही होटेल, गोल देवल वरिपरिका स्थानमा बिताएका हुन् । दाउद इब्राहिम अहिले प्रहरीको मोस्टवान्टेड लिस्टमा रहेका छन् ।’

भण्डारीजीले बताइरहनुहुँदा चुपचाप सुन्ने काम गर्यौँ त्रिवेणीजी र मैले । कुनै प्रतिक्रिया जनाउनु भएन त्रिवेणीजीले । थालीको खाना पनि सकिएछ यसै बेला । त्यसपछि हतारिँदै उठ्यौँ सबैजना । त्रिवेणीजीले बिल भुक्तानी गर्नुभयो ।

मिठो गुजराती थालीको खानाको बयान गरेर साध्य छैन । अर्कोतर्फ, अत्यन्त निन्दनीय व्यक्तिको यथार्थ कथा र विवरण सुनेर किंकर्तव्यविमूढको अवस्थामा पुगेँ म । तर, पछिल्लो कथालाई नसुनेको जस्तै गरी गुजराती थालीका लागि त्रिवेणीजीलाई धन्यवाद दिंदै नयाँ स्वाद र परिकार भोजन गर्न पाएकोमा आफू धन्य भएको कुरा सुनाएँ । मेरो कुरा सुनेर मुसुक्क मुस्कुराउनुभयो त्रिवेणीजी ।

पौने चार बजे निस्कियौँ होटेलबाट । ठिक १६ः०० बजे जेल सर्वसाधारणको लागि खुलेपछि जेल सुपरिन्टेन्डेन्ट सुधीर एन किंग्रेसँग भेट गरी भ्रमणको उद्देश्य बताउँदै भारतीय विदेश मन्त्रालयबाट प्राप्त कारागार भ्रमणको स्वीकृतिपत्र हस्तान्तरण गर्ने काम गरेँ ।

पत्र पढेपछि एकजना नेपाली महिला बन्दीलाई उपस्थित गराइदिनुभयो । निज महिलासँग केही कुरा सोधपुछ गर्नका लागि किंग्रेले अनुमति दिनुभएकोले मैले केही प्रश्नहरू गर्ने काम गरे‘े । बुटवल–८, रुपन्देहीकी सुश्री मुस्कान मगर रहेछ युवतीको नाम । मेरा केही प्रश्नहरू र तिनको उत्तर यस्ता थिए–

‘के कतिजना नेपाली महिलाहरू यस जेलमा रहनुभएको छ ? जेलको अवस्था के कस्तो रहेको छ ? र, आफू के मुद्दामा र कहिले पक्राउ पर्नुभएको हो ?’ जस्ता सामान्य प्रश्नहरू गरेँ ।

प्रत्युत्तरमा मगरले भनिन्, ‘विनाकसुर, आफू निर्दोष हुँदाहुँदै पनि जेल परेकाले कहिले छुट्छु ? तपाईं को हो र किन आउनुभएको ? मुम्बईमा बस्नुहुन्छ कि बाहिर ? किन यत्तिका प्रश्न सोध्नुभएको ?’ आदि ।

जवाफमा आफू नेपाली राजदूतावास, नयाँ दिल्लीबाट उनीहरूकै उद्धारका लागि खटी आएको छोटकरीमा बताएँ । साथै, छुट्ने बेला मेरो भिजिटिङ कार्ड मागेकीले किंग्रेको अनुमति लिएर दिएँ । साथै, अरू महिलाहरूलाई पनि भेट्ने कार्यक्रम रहेकोले मेराबारेमा बताइराख्नु भनेर मगरलाई आग्रह गरेँ ।

वार्तालापपछि अन्य बन्दी महिलाहरूसँग भेट गर्नको लागि अनुमति पाउन सुधीर एन किंग्रेसँग अनुरोध गर्दा जेल सुपरिन्टेन्डेन्टको नाममा नै राजदूतावासको तर्फबाट आधिकारिकपत्र आउनुपर्छ भन्नुभयो । पत्र फ्याक्समार्पmत नै आए पनि मान्यता दिएर भेट गर्नका लागि अनुमति दिइने उहाँले जानकारी गराउनुभयो ।

सोहीअनुसार मुम्बईबाट राजदूतावासका प्रथम सचिव घनश्याम लम्सालसँग फोन सम्पर्क गरी जेल भ्रमणको लागि आधिकारिक पत्र बाइकुला जेल, क्लियर रोड, मुम्बई ४०००८ को ठेगानामा पठाइदिन अनुरोध गरेँ । त्यसपछि जेल प्रशासक किंग्रेसँग बिदा भएर पाँच बजे बाइकुला अर्थात् मुम्बैयाहरूको शब्दमा भायखला जेलबाट बाहिरियौँ हामी ।

होटेल जानुअगाडि पुरानो मुम्बई वा मुम्बई सेन्ट्रल घुमेर जाने निर्णय भयो । त्यसैले रेलवे स्टेसनको नजिकै नोभेल्टी सिनेमा हल रहेको ग्रान्ट रोडतिर रवाना भयौँ । त्रिवेणीजीका भाइहरू शिव तथा भरतको पसल ओम ब्रदर्शमा गएर चिया पियौँ । मिक्सर, फ्यान, टेलिफोन, सीडी, भीसीडी, डीभीडी, वाच, बडी स्प्रे, मोबाइल आदि बिक्री गर्ने रहेछन्, ग्रान्ट रोडमा खोलिएको तिनका पसलबाट ।

शिव भाइ र भरत भाइसँग बिदा भएर अरू पसल चहार्दै पैदलयात्रा गर्यौँ एकैछिन । मुम्बई सेन्ट्रल रेलवे स्टेसनछेवैको वा वलवास इस्टेट, अपोजिट नोभल्टी सिनेमा, ग्रान्ट रोडमा रहेको यादगार गेस्ट हाउसको भिजिटिङ कार्ड लिएँ मैले । भविष्यमा कथंकदाचित मुम्बई आइएछ भने रेलवे स्टेसन छेउको गेस्टहाउसमा बस्न सजिलो पर्छ भन्ने मनसायले ।

उज्यालो र गर्मीले छाइरहेको दिन एकैछिनमा धुम्मिएजस्तै भएर आयो । यसरी एक्कासि बदली भएको देखेर अधिवक्ता हरिशजीले भन्नुभयो, ‘मिस्टर राई, मुम्बईका केटी र मौसमको कुनै विश्वास छैन । साक्षी तपार्इं पनि भइहाल्नुभयो आज ।’

हुन पनि आज दिनभरमा करिब पाँच पटकजति छासछुस पानी परेको छ । अब पनि पर्लापर्लाजस्तो छ ।

हरिशजी बिदा हुनु चाहनुहुन्छ यहीँबाट । दिनभरि साथ दिएकोमा धन्यवाद भन्दै दाहिने हात अगाडि सारेँ । हात कसिलो गरी मिलाएर बिदा भयौँ हरिशजीसँग । त्यसपछि त्रिवेणीजी र म यात्रामा जुट्यौँ, गोकुल आनन्द होटेल फर्किन ।
०००
असार ३०, २०६६ अर्थात् मंगलबार जुलाई १४, २००९ को बिहान ।

मुम्बई आइपुगेको पनि तीन दिन भइसकेको छ आज । आठ बजे गौतम भाइ आइपुग्छु भन्नुभएकोले तयारी हुनुपर्नेछ चाँडै नै । बिहान छ बजे नै उठेर केही बेर योग गरेँ । नुहाइ सकेर चिया र टोस्ट खाएँ । एक प्लेट फलादि पनि खाएँ । सिमसिम पानी परिरहेकोले ढिलो गरे गौतम भाइले ।

गौतम भाइ साढे नौ बजे मात्र आए । उनी आउनासाथ प्रस्थान गर्यौँ बाइकुला जेलका लागि ।

दत्तानी पार्क, ठाकुर कम्प्लेक्सलाई पार गर्दै मलाडमा आइपुगेका छौँ । मलाडमा माटाका रंगीन भाँडावर्तनहरू देख्दा सूर्यविनायकबाट हनुमन्ते खोला तरेर राम मन्दिर मार्गबाट उकालिँदा सडकको देब्रेतर्फ रहेको भक्तपुरको पोटरी स्क्वायर यात्रामा छु जस्तै लाग्यो । मुम्बईमा भक्तपुरको झझल्को आयो । अलिकति आफ्नोपनले स्थान लियो मेरो मनमा ।

पानी पनि पर्न लाग्यो । मलाड छोडेर गोरेगाँव र जोगीश्वरीलाई पार गरेर अँधेरी इस्टमा पुगिसकेका छौँ, बिहानको दश बजे । वीले पार्लेमा दौडिरहँदा मुम्बईका सडकलाई प्रेम गर्ने ट्याक्सी र टेम्पो (अटो भनिने)का परिचय लिनुपर्यो भनी उभिरहेका ट्याक्सीको नम्बर सारेँ सुटुक्क डायरीमा ः एमएच ०४ सीई १४८५ तथा ट्याम्पोको नं. एमएच ०२ एसए ४१६५ ।

शान्तक्रुजको सडकलाई नापिरहेको छ जीपले यस बेला । बाटोछेउका रुखहरू पानीले निथ्रुक्कै रुझेका छन्, मूसो भिजेजस्तै । गज्याङमज्याङ र साना टहराहरू देखिँदै छन् सडक किनारातर्पm । झुपडपट्टीहरू रहेछन् । खार, बान्द्रा हुँदै सी लिंकमा आइपुगियो । त्यति व्यस्त छैन सी लिंक । समुद्र एकदमै अँधेरिएको छ । मानौँ, कुनै रिसको आवेशमा रहेको व्यक्तिजस्तै ।

साढे दश बजे माहिम कजवे रोडमा दौडिरहेको छ जीप । मोरी रोड, जोय बेले, माहिम रेलवे स्टेसन, दादर, एसबी मार्ग (सेनापति बापत मार्ग)मा आउँदा पानी पनि रह्यो । रोडको एकातिर ताजा तरकारी किन्ने र बेच्नेहरूको भीड छ भने अर्कोतिर रेल गुडिरहेको छ । अलिक परतिर अग्लाअग्ला भवनहरूले उभिएर हाम्रो यात्रा र तरकारीवालाहरूको रमिता हेरिरहेको छ ।

लोअर पारेल पार गरेपछि पर समुद्रको बीचमा अवस्थित हाजीअली मस्जिदलाई सडकबाट हेर्दै रेखांगीचोक भएर महालक्ष्मी स्टेट रेलवे स्टेसन, मराठा मन्दिर सिनेमालाई पार गरेर ट्विन टावर अवस्थित मुम्बई सेन्ट्रलमा पुग्यौँ, बिहानको एघार बजे ।

सिटी सेन्टरको रमाइलो हेर्दै सवा एघार बजे पुग्यौँ बाइकुला जेलमा । जेलमा एसआई अर्थात् सबइन्स्पेक्टर वैभव एस आगेसँग भेट गरी राजदूतावासको तर्फबाट जेलमा रहेका बन्दीहरूलाई भेटेर कुरा गर्ने आधिकारिक पत्र हस्तान्तरण गरेँ ।

उक्त जेलमा थुनामा रहेको ३७ नेपाली महिलाहरूसँग प्रत्यक्ष भेटघाट गर्ने काम गरेँ । उक्त कैदी महिलामध्ये ३२ जना जाली राहदानीको मुद्दामा, एकजना लागुऔषध मुद्दामा र पाँचजना महिलाहरूलाई कमाठीपुरा तथा फकल्यान्ड स्ट्रिटमा वेश्यालय सञ्चालन गरेको मुद्दामा थुनामा राखिएको पाएँ ।

थुनुवा बन्दीहरूसँग प्रत्यक्ष भेट गरी तिनीहरूका विवरण लिने क्रममा नाम, ठेगाना, जन्ममिति, बाबुआमाको नाम, पतिको नाम, छोराछोरीको संख्या, नेपालको सम्पर्क फोन, मुम्बई आइपुगेको मिति, पक्राउ परेको मिति, कसुर, जान खोजेको देश, नेपाली एजेन्ट, भारतको एजेन्टका साथै थप केही कुरा भए भन्नका लागि अनुरोध गरेँ ।

यसरी विवरण लिने क्रममा धेरै नेपालीहरू घरेलु हिंसाका कारण विदेश जान खोजेको, अरूकै राहदानीमा फोटो टाँसी एजेन्टले पठाउन खोज्दा फसेको, नेपाली राहदानीमा आफ्नो फोटो टाँसी उडान भर्न खोज्दा भारत सिलिगुडीकी सानुमाया उर्फ तीर्थमाया शेर्पा, सीता गुरुङ तथा बुनु सेढाईं समेत पक्राउ परी जेलमा रहेको थाहा भयो । कतिपय ग्रेटर मुम्बईको मीरा रोडस्थित वेश्यालयको दलाल भएर काम गर्दाको अवस्थामा पक्राउ गरेर थुनामा राखिएको कुरा समेत खुल्न आयो ।

यसरी केही बन्दीहरूस‘गको कुराकानीपश्चात् अपराह्न तीन बजे लन्चका लागि बाहिरिएँ म ।

सहिद भगत सिंह रोड, इन्डियन रेडक्रसचोक, फोर्ट  मार्केट, सोफिया झुवेर रोड, कमाठीपुरा भएर कर्नर अफ वेलासी रोडस्थित नागपाडा जक्सनको केफ सागर गयौँ गौतम भाइसँग । केफ सागरमा बटर नान, चिकेन र मिक्स भिजिटेबल आदि अर्डर गरेर खाइयो ।

आजै अँधेरी इस्टको पोवइमा बसोबास गरिरहनुभएकी कुसुमलता नायडूकी सुपुत्री उषा राईले भेट्नका लागि समय दिनुभएको छ । त्यसैले गौतम भाइलाई बेलुकी होटेल फर्कंदा त्यही बाटो भएर फर्कन भनेको छु ।

जेल भ्रमणको काम समाप्त भएपछि जेल प्रशासनबाट बिदा हुने क्रममा जेल प्रशासनले गरेको सहयोगप्रति आभार प्रकट गरेँ । भविष्यमा पनि कुनै सहयोगको आवश्यक परेमा सहयोग हुने नै छ भनी आशा व्यक्त गरेँ । बाइकुला जेल प्रशासनले पनि हार्दिकतापूर्वक बिदाइ गर्ने काम गरे । त्यसपछि विधिवत् बिदा भई गौतम भाइसँग निस्कियौँ जेल परिसरबाट ।

अब उषाजीको निम्तो भएकोले तिनकै निवासतिर जाने निश्चय गर्यौँ । अघि लन्चको समयमा नै गौतम भाइले फोनबाट उषाजीको एपार्टमेन्टको पूरा ठेगाना लिने काम गरिसक्नुभएको छ ।

त्यसैअनुरूप अ‘धेरी इस्टका लागि रवाना भयौँ हामी । मुम्बईबारे राम्रो ज्ञान भएकाले गौतम भाइले सजिलै पुरयाउनुभयो उषाजीको एपार्टमेन्टमा । 
हामीबीच अर्थात् उषाजी र मेरो पहिलो भेट भएको भए पनि एकदम खुसी हुनुभयो उहाँ । एक छोरा र एक छोरीकी माता उषाजीको छोरी भने विवाह गरेर न्युयोर्कमा बसोबास गर्दै गरेकाले भेट्न जाने प्रबल इच्छा रहेको कुरा बताउनुभयो । आफू फ्रिलाइन्स फिल्म स्क्रिप्ट राइटिङ र समाजसेवामा व्यस्त रहेको कुरा पनि बताउनुभयो ।

माताजी (कुसुमलता) देहरादुनमा छोरा भएकोले हाल त्यतै जानुभएको छ । त्यसैले भेट हुन सकेन । त्यसको लागि आफू पनि दुःखित भएको जनाउनुभयो । साथै, अर्को समयमा मुम्बई आउनुभएमा अवश्य भेट हुनेछ भन्दै आश्वस्त गराउन खोज्नुभयो । कफी र केही कुकिज खाँदै आपसमा कुराकानी गरी भोलिपल्ट नै नयाँ दिल्ली फर्किनुपर्ने भएकोले हतारमा रहेको संकेत गरेँ ।

तर, उषाजी भने समयले साथ दिन्छ भने डिनर खाएर जान भनिरहनुभएको छ । तथापि, हतार भएको कुरा दोहोर्याउँदै बिदा मागेँ । उषाजीको अनुमति प्राप्त भएपछि होटेल फर्किने काममा जुट्यौँ गौतम भाइ र म ।
०००
आज साढे चार बजे मुम्बईबाट दिल्लीका लागि प्रस्थान गर्ने दिन अर्थात् असार ३१, २०६६ तद्नुसार वुधबार जुलाई १५, २००९ ।

होटेलको बिल मगाएर भुक्तानिी गर्ने काम गरेँ । भारु ५४३० भएछ, जुलाई १२ देखि १५ तारिख २००९ को । होटेलबाट ११ बजे बाहिरिने काम भयो । 
त्यसपछि ओमकारेश्वर, वोरिवाली, कान्दीवोली, कान्दीवोली रेलवे स्टेसन, मलाड, गोरेगाँव, जोगेश्वरी, गुरुरामदास रोड, धरमबाग, अँधेरी वेस्ट भएर जुहु बिच पुर्याउनु भयो गौतम भाइले ।

जुहु बिचमा सूर्यास्त ओर्लनु भनेको सानासाना स्टलहरूले हजारौँ बल्बहरू बालेर बिर्सिनसक्नुको चमत्कारिक दृश्यको उपस्थिति गराउनु हो भनेर ब्रिटिस ट्राभल राइटर फिलिप वार्डले उल्लेख गरेका छन् । तर, दिनको एक बजेको जुहु बिच हेर्नसम्मलाई ठिकै रहेछ । छेवैको रामदा इन र पाल्म ग्रोभ होटेलको उचाइले ढाकिदिएको छ, यस समयमा परपरको दृश्यहरूलाई ।

जुहुबीचमा बिक्री भइरहेको भेलपुरी, पपकर्न तथा नरीवल पानीले ध्यान तान्छ र नरिवल पानी पिउँछौँ हामी । माग्नेहरूको गुनगुनाहट पनि सुन्न लायक छ ।

शान्तक्रुजछेउको जुहु बिचको अवलोकनपश्चात् ग्रेटर मुम्बइको सिधै दक्षिणतर्पm हान्निएर अरेवियन सीको बान्द्रा प्वाइन्टमा पुग्यौँ ।

दिउँसोको दुई पनि बज्न लागेको छ अहिले । केएफसी साइड, बान्द्रा, ब्यान्ड स्ट्यान्डमा बसेर केही खाने योजना बनाएँ । एक प्लेट चिकेन चिल्ली (भारु २३०/–), दुई प्लेट चिकेन फ्राइड राइस (भारु २१५/–प्रति प्लेट), र भिजिटेवल मिनी मिल (भारु १४०/–) अर्डर गरेँ ।

खाना नआइन्जेल अरेबियन सीका शान्त लहरहरूलाई नियाल्ने काम गरियो । पानीजहाजहरू ओहोरदोहोर गरिरहेका छन् । समुद्रको चिसो हावाको स्पर्शमा रमाएँ । अर्डरको खाना आइपुगेपछि गौतम भाइ र मैले खायौँ । मज्जाले स्वाद मानेर खाएपछि पुनः दक्षिणतर्पm नै लाग्यौँ, बान्द्रा ओर्ली सी लिंक (समुद्रमाथि निर्मित पुल) तरेर कुम्बाला हिललाई पार गर्दै मालाबार हिलको नजिक हुँदै चौपाटी बिचमा पुग्यौँ ।

पर्यटकीय दृष्टिले निकै महत्त्व राख्ने चौपाटी बिचमा निकै चहलपहल रहेको छ । चौपाटीका छातीमा सानासाना टहराजस्ता पसल वा किओस्कमा आइसक्रिम, भेलपुरी, इडली साम्बर, पोटाटो डोसा, ओनिअन डोसा, नरिवल, पेस्ट्रिज आदि क्रेता र विक्रेता दुवै प्रकारका मान्छेको चहलपहल छ ।

गौतम भाइका अनुसार पाकेट सफा गरिदिनेदेखि भाङ, धतुरो, गाँजा, ब्राउनसुगर समेतको क्रेता–विक्रेताहरूरुको जमघट हुन्छ रे चौपाटी बिचमा । तर, अनुभव गर्ने र चमत्कार देख्ने सौभाग्य भने मिलेन आज । ट्याक्सी ड्राइभरहरूको कमाठीपुरामा सम्पर्क हुने भएकोले त्यस्ता अवैधानिक क्रियाकलापहरूमा समेत चौपाटीको सहभागिता रहेको छ ।

यसै स्थानको ब्याकवेमा ओवेराय टावरछेउदेखि चौपाटी म्यारीन ड्राइभ नामक सुन्दर सडक निर्माण भएको छ । अरेबियन सीको ब्याकवेको किनारैकिनार ड्राइभ गर्दाको अनुभव बिर्सिनसक्नु हुनेछ भन्दै गौतम भाइ भन्नुहुन्छ । तर, आज समय कम हुँदा ड्राइभमा सामेल हुन नसकिने भएकोले अलिक दुःख पनि लाग्यो मलाई । हुन त मान्छेले सोचे, सम्झे, चाहेअनुसारका कुराहरू कहिल्यै पूरा हुन्छन् भन्ने लाग्दैन मलाई । आज पनि यस्तै भयो ।

चौपाटी र म्यारिन ड्राइभको अवलोकनपश्चात् अलिकति पूर्वतिर लागेर हारबोरवेमा अवस्थित द गेटवे इन्डियामा गयौँ । सम्राटीय स्मारकका रूपमा समुद्र किनारसँग उभिएको गेटको आकारको वा बीचमा वारपार गर्न मिल्ने मूलद्वार र दुवै छेउमा अलिक साना वारपार गर्न सकिने चारैतिर खुला राखी निर्माण गरिएको छ । मूलद्वारको अगाडि र पछाडिको भागमा ठूलाठूला खम्बा बनाई एकतला माथि बरन्डा र बीचमा कोठा बनाइएको छ । खम्बाहरूलाई प्रयोग गरी बन्द छत बनाएर चारैवटा खम्बालाई गजुर शैलीमा उभ्याइएको छ ।

एकदम सुन्दर र कलात्मक छ गेटवे इन्डिया । पानीजहाजसम्म जान सकिने भर्याङ पनि बनाइएको छ यसमा । मार्च ३१, १९१३ बाट निर्माण सुरु गरी डिसेम्बर ४, १९२४ मा निर्माण सम्पन्न गरिएको थियो गेटवे इन्डियाको । यस स्थानको अवलोकन गरिरहँदा फिलिप वार्डले लेखेको कुरा सम्झनामा आयो ।

एक रात उनी यसै स्थानमा घुमिरहँदा कुनै व्यक्तिले नजिक आएर भनेछ, ‘हुलो, मिस्टर, यु वान्ट नाइस गर्ल, ब्युटिफुल गर्ल, इन्डियन एयरलाइन्स, आइ ब्रिङ्ग हर टु योर रुम ।’

‘हेलो सर, सर, यु वान्ट गुड म्यारिजुआना, गुड क्वालिटी ।’

मेट्रोपोलिटान सिटीमा यस्ता कुराहरू नहोलान् भन्ने लाग्दैन । तर, फिलिप वार्डले गरेको अनुभूति सँगाल्नका लागि समय र परिस्थितिको संयोग हुन जरुरी छ । आफूसँग ती दुवै चिजको अभाव वा भर्भराउँदो दिनको समय भएकोले यस्तो कुनै चहलपहल र सुइँको पाइनँ मैले । लाग्यो, सूर्यास्तपछिका क्षणहरू कुरेर बसेका होलान् त्यस्ता क्रियाकलापहरू ।

गेटवे अफ इन्डियाको ठिक अगाडि समुद्रको किनारमा फुरुंग उडेको अनुहार लिएर उभिएको छ, ताजमहल प्यालेस तथा टावर होटेल । जुन होटेललाई तारो बनाएका थिए नोभेम्बर २६, २००८ का दिन तथाकथित दशजना लस्कर–ए–तैवाका आतंककारीहरूले । ग्रीनेड, बम तथा बुलेटको सहाराले हाराबारा खेलाएर भव्य, सुन्दर र प्रसिद्ध होटेललाई क्षतविक्षत बनाएका थिए । पूरै मुम्बई सहर रक्ताम्य भएको थियो । डर र त्रासमा उकुसमुकुसिएको थियो । भोलि देख्न पाइन्छ कि पाइँदैन भन्ने स्थितिमा ६० घण्टासम्मको निरन्तर प्रयासपछि सुरक्षा फौजले आतंककारीहरूलाई हताहत गर्दै एक आतंककारी मोहम्मद अजमल कसाबलाई जिउँदै पक्रेर शान्तिको श्वासप्रश्वास फेर्न सहयोग पुर्याएको थियो ।

आतंककारी हमलामा १६६ जनाले जीवन आहुति दिएका थिए भने ६०० भन्दा बढी सुरक्षाका अधिकारीहरू, अग्निनियन्त्रकहरू तथा सर्वसाधारण घाइते भएका थिए । केही बेर चुपचाप नियालेँ ताजमहल होटेललाई । भित्ताहरूमा बुलेटका दागहरू आलै देखिए । त्यत्रो भव्य र सानदार भवन निरीह बनेर आतंकी हमला कसरी व्यहोर्न सक्षम भयो होला ? मनमनै प्रश्नहरू खडा भए ममा । ताजमहल होटेलको एक–दुईवटा फोटो खिच्ने काम गरेँ ।

गौतम भाइ छेउमा उभिएर भन्दै छन्, ‘अब त रेलवे स्टेसनतर्पm जाने समय पनि भइसक्यो । हेरेर जाने भए आतंककारीहरूले हमला गरेको यही छेउको लियोपोल्ड केफे पनि छ । उक्त केफेमा धेरै विदेशीहरू आउने गरेकोले पानीजहाजबाट ओर्लेर अन्धाधुन्ध गोली चलाएका थिए ।’

‘त्यसो हो भने आएको बेला हेरौँ न त ।’ त्यसपछि त्यतातिर लाग्यौँ । 

लियोपोल्ड केफे समुद्रको छेउमा कोलीहरूको बस्तीसँग जोडिएर रहेको रहेछ । पाकिस्तानी आतंककारीहरू कोली बस्ती भएर मुम्बई प्रवेश गर्ने क्रममा लियोपोल्ड केफेमा आतंक मच्चाउँदै भित्रिएका रहेछन् ।

केही बेर लियोपोल्ड केफेलाई नजिकबाट नियालेर मुम्बई सेन्ट्रल रेलवे स्टेसनतर्पm प्रस्थान गर्ने क्रममा लाग्यौँ ।

जीपमा पसेपछि गौतम भाइलाई सोधेँ, ‘कोली भनेको कस्तो मान्छे हो भाइ ?’

‘कुल्लीबाट कोली भएको हो । पोर्चुगिजहरूको समयमा आएर अरूको काम गर्ने, माछा मारेर बेच्ने, जो गरिब थिए उनीहरूलाई कोली भनेर सम्बोधन गरिन्थ्यो रे ! ग्रेटर मुम्बईको दक्षिणी विन्दुमा कोलाबा भन्ने स्थान रहेको छ । त्यही स्थानमा हजारौँ वर्षदेखि बसोबास गर्दै आएकाहरूलाई नै कोली भनिने गरेको छ मुम्बईमा ।’

सवा चार पनि बजिसकेछ मुम्बई सेन्ट्रलमा आइपुग्दा । पच्चीस मिनेटजति समय बाँकी छ मुम्बईमा बस्ने । नजिकैको चिया पसलमा गई उभिएरै चिया पियौँ हामीले । चार दिनसम्म सेवा पुर्याए भाइले ।

एउटा बन्द खाम थमाइदिन खोजेँ, मान्दै मानेनन् भाइले । जबरजस्ती ज्याकेटको खल्तीमा लगाइदिएँ र हात मिलाएर बिदा भएँ । गौतम भाइ जीप पार्क गरिरहेको तिर बढे भने मचाहिँ प्लेटफर्मतिर ।

रेलको समय हुनै लागेकोले निकै भीडभाड छ प्लेटफर्महरूमा । म पनि लुसुक्क भीडमा मिसिएर हराएँ, मुम्बई सेन्ट्रल रेलवे स्टेसनमा ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०६:०२
प्रतिक्रिया दिनुहोस्