site stats
साहित्य
सुरेश जोशीका दुई कविता

समृद्धिको गर्भ
इन्क्लाब जिन्दावाद !
बन्दे मातरमको नारा लगाएर
परिवर्तनको बिगुल फुकेको उसले
आफ्नो जवानी 
जेलका कालकोठरीमा बितायो
स्वतन्त्रताको सपना
समानताको सपना
समृद्धिको सपना
मुक्तिको सपनाको अघिल्तिर
हलुका थिए ती जन्जिरका भारी
स्वर्ग थियो त्यो चिसो अँध्यारो कोठा
उसले देखेको सपना
जनजनको सपना बन्यो
अनि, उर्लियो मानवसागर
सम्भव भयो परिवर्तन
व्यवस्था परिवर्तन भयो
अवस्था परिवर्तन भएन !
कहिले सपनामा खोट निकालियो
कहिले सुत्ने बिस्तराको वास्तुदोष !
तर, यथार्थ
दोषी कोही थिएन
दोषी थियो
लालच
दोषी थियो शासकको ठाँट
दोषी थियो व्यक्तिगत महत्त्वाकांक्षा
अनि, अकर्मण्यता र अक्षमता
यही दोषले
तुहाएको थियो
समृद्धिको गर्भ ।

०००

S.A.U
Agani Group

विकल्प

बडेमानको रूखमा अडेस लगाउँदै
खुइय्य सुस्केरा हाल्दै ऊ
निधारमा हात लगाई बसेको छ
मोटो चस्माले आँखीभौँका
सेता कपाल पनि लामा र मोटा देखिएका छन्
धमिला आँखाले सबै कुरा छर्लंगै देखिँदा
हैरानी झन् बढाएको छ
अनि,
भाउन्न छुटेर आ’को छ
आफ्नै सन्तानको कर्मले

Global bank

सुकिलामुकिलाको चर्तिकला
खपिनसक्नु भा’को रहेछ
देश बन्धक राख्नेका चर्का कुराले
राजनीति गिजोलिएको छ
सिद्धान्त दाउमा राखिएका छन्
आदर्शको भाउ सस्तो भएको छ
लिलामीमा छ नैतिकता
महाकुम्भको सुरुआतमा
मुक्तिको आसमा डुबुल्की लगाउनेहरूलाई
झुक्काएर कुम्भीपाकमा चोबलिएको छ 

कस्ताका लागि लडेको रहेछु
सोच्दासोच्दै हैरानी झन् बढेको छ
उद्वेलित मन शान्त हुने छाँट नदेख्दा
कुलेलम ठोक्नुको विकल्प देखेनन्
परिवर्तनमा साथ नदिनेहरूलाई
सराप्नुको विकल्प देखेनन् ।
(सैबु, ललितपुर)
 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०८:२१
प्रतिक्रिया दिनुहोस्