
जगन्नाथ पौडेल
ए ध्रुवतारा !
तिमी पनि एक्लै
म पनि एक्लै
सबैको माझमा सबै एक्लै
धर्तीको काखमा धर्ती एक्लै
मेरो काखमा म एक्लै
आऊ ध्रुव
म एक्लो र तिमी एक्लो मिलौँ
र, एक हौँ
एक हौँ अर्थात् फेरि एक्लो
र, एक प्याला मुस्कुराऊँ एक्लोमा
यस्तो कि
धर्तीको केशले हाम्रो एकोभाव लेखोस्
हावाको सुरले हाम्रो समगीत गाओस्
जूनका चल्लाहरू छुनुमुनु नाचून् हाम्रो गीतमा
हामी एक भएपछि
तिमी जहाँ जान्छौ
म पनि त जान पाउने भएँ
तिम्रा आँखा मेरा पनि त हुने भए
तिम्रो खाली आकाश मेरो पनि त हुने भयो
तिमी भनौला, खाली आकाश कसैको हुँदैन
म भनूँला, कसैको नभए सबैको हुन्छ
सबै कोही हुँदैन, तिमी भनौला
एक्लै नै सबैसबै नै एक्लै, म भनूँला
त्यसैले तिमी भने पनि म
म भने पनि तिमी
कोही एक्लो पनि रहेन
कोही साथ पनि रहेन
किनकि, साथ पनि आफैँ एक्लो छ

तिमी नभए साथको के अर्थ
तिमीलाई तिम्रो अर्थले साथ नदिए तिम्रो के अर्थ
...
...एक्लै...
...
तिमी मात्र कति हेर्छौ
पहेँला आँखाले हरियो धर्ती ?
मलाई पनि हेर्न देऊ नीला आँखाले
पहेँला एक्लैएक्लै बसेका ताराहरू
मेरा उर्फ तिम्रा
तिम्रा उर्फ एक्ला
आखिर यहाँ कोही एक्लो रहेन
किनकि, एक्लो भन्दिने ऊ हो
यहाँ साथ पनि कसैको रहेन
किनकि, मर्ने बेला माथ पनि साथ रहन्न
त्यसैले कोही आधा सग्लो छैन
त्यसैले कोही होचो अग्लो छैन
एक्लो पनि छैन, संसाथ पनि छैन
बस्, केही छ
तिमी छौ म छु
आजदेखि म ध्रुवतारा,
तिमी ध्रुवप्रसाद
सँगै उड्ने रीत छैन धर्तीको
पठाऊ तिम्रो एउटा पहेँलो पखेटा
म उड्न चाहन्छु
एक्लै !
...
किन किन
म ‘एक्लो’ हुन तिम्रो साथ खोजिरहेछु !
‘म एक्लो’ भन्न तिम्रो हात खोजिरहेछु !