1675485250.jpg)
युरेसियाको यात्रा
(नियात्रासंग्रह : जीवनाथ पोखरेल)
साहित्यकार जीवनाथ पोखरेलको दोस्रो नियात्राकृति हो, ‘युरेसियाको यात्रा’ । केही समयअघि प्रकाशित भएको हो । उनका यसअघि कथा, कविता, गीत र नियात्रा गरेर ६ कृति प्रकाशित भइसकेको छ ।
‘युरेसियाको यात्रा’मा आफ्नो भनाइ पोखरेल यसरी राख्छन्, “म सरकारी सेवाबाट निवृत्त भएको पनि झन्डै एक दशक भइसकेछ । मेरो साहित्यिक यात्राको पनि यस्तै हाराहारीको समय होला । यसमा मेरा इच्छाले विस्तारै झ्याङ्गिने अवसर पाएका हुन् कि भन्ने मलाई लाग्दछ ।...।”
पुस्तकको भूमिकामा प्रा. माधवराज गौतम लेख्छन्, “प्रस्तुत कृति साहित्यकार जीवनाथ पोखरेलको नियात्रा विधाको गहकिलो, संस्मरणात्मक कृति हो । कृतिमा उहाँले युरेसिया भ्रमणका सन्दर्भमा गरिएका अनुभव र आत्मअनुभूतिहरूलाई भ्रमण गरिएका देशहरूका अतीत र वर्तमानका ऐतिहासिक, आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक, भाषिक, धार्मिकलगायत सबै तथ्यपरक विवरणहरू सर्वाङ्गपूर्ण गरी सरस साहित्यिक र रचनाका रूपमा प्रस्तुत गर्नुभएको छ ।...।”
साहित्यकार विधान आचार्य पुस्तकको प्रकाशकीयमा लेख्छन्, “...यस निबन्धात्मक नियात्रामा समेत उहाँले विभिन्न देशका चारित्रिक अवस्थालाई बुँदामा प्रस्तुत गर्नुभएको छ ।”
यस कृतिमा कुल १५ नियात्रा छन् । फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, जर्मनी, डेनमार्क, स्वीडेन, इटालीसहित अरू देशसँगै लायन्स क्लब इन्टरनेसनलसँग जोडिएको यात्रा पनि राखिएको छ ।

नेपाल स्रष्टा समाजद्वारा प्रकाशित ११६+४ पृष्ठको यस कृतिको मूल्य २५०– रुपैयाँ राखिएको छ ।
०००
अनुभूति
(कवितासंग्रह : मुक्तिनाथ पोखरेल)
केही समयअघि प्रकाशित कविताकृति हो, कवि मुक्तिनाथ पोखरेलको ‘अनुभूति’ । जसमा उनका छन्दोबद्ध कविताहरू संगृहीत छन् ।
कवि पोखरेल आफ्नो लेखनीका बारेमा पुस्तकमा लेख्छन्, “...२०६४ सालमा इटहरी आएपछि विस्तारै यस क्षेत्रमा बामे सर्ने अवसर मिल्यो । २०७७ सालको असोज अन्त्यतिर कोरोनाले २६ दिन थला पार्यो । त्यसै बेलादेखि लेख्दै जाँदा आज यो ‘अनुभूति’ कवितासंग्रहको जन्म भयो ।...।”
कविता ‘मान्छे बनूँ के गरी’ मा कविको भाव छ–
बढ्दै जान्छ कुभाव मात्र मनमा आएन राम्रो मति
त्यसैले अवरुद्ध भो जति थियो आफ्नो सबै उन्नति
तृष्णाको छ बिछट्ट जाल मनमा हट्दैन केही गरी
सारा स्वार्थ भुलेर स्वच्छ मनका मान्छे बनूँ के गरी ।१। (पृष्ठ—६०)
पुस्तकको अन्तिम पृष्ठमा कवि अनिल पौडेल लेख्छन्, “अत्यन्तै खिपिएका र कुँदिएका छन्दोबद्ध कविताहरूको संग्रह प्रकाशित भएको छ । एउटा जीवनले नेटो काट्दै गर्दा के कस्ता उकाली ओरालीहरूबाट गुज्रिनु पर्दो रहेछ र तिनीहरूलाई कसरी पाठकसमक्ष सम्प्रेषित गर्न सकिँदो रहेछ भन्ने कुराको अनुभूति यस पुस्तकले गराएको छ ।”
‘असल बनौँ’ शीर्षकको कवितामा पोखरेल लेख्छन्–
भ्रष्टाचारी देशका मुख्य नेता
कालोलाई श्वेत पार्ने प्रणेता
कस्तो नौलो तन्त्र आएछ हाय
निर्धो बाँच्ने छैन केही उपाय । (पृष्ठ—८४)
अच्छाराई ‘रसिक’ साहित्य प्रतिष्ठान, इटहरीद्वारा प्रकाशित १८८+४ पृष्ठको यस कविताकृतिको मूल्य २५०– रुपैयाँ राखिएको छ ।
०००
सातो
(उपन्यास : ध्रुवचन्द्र गौतम)
डा. ध्रुवचन्द्र गौतम नेपाली आख्यानजगत्का यशस्वी हस्ताक्षर हुन् । उनको आख्यानकारिताको चर्चा नगर्ने कमै छन् । यसअर्थमा उनको आख्यान पढ्ने, आख्यान पर्दामा रूपान्तरित भएको हेर्ने मानिस धेरै छन् । निकैअगाडिको चलचित्र ‘वासुदेव’ धेरैको मानसपटमा होला पनि ।
उनै आख्यानकारद्वारा लेखिएको अर्को उपन्यास हो, ‘सातो’ । यो उनको २८औँ औपन्यासिककृति हो ।
उपन्यासको अन्तिम आवरण पृष्ठमा प्रकाशन संस्था लेख्छ, “...गौतमको लेखाइमा स्वैरकल्पना, नयाँपन र श्याम–व्यंग्य (ब्ल्याक–ह्युमर)को पुरापूर प्रयोग भएको हुन्छ । यही विन्याससहित आजको युगलाई मानसिक र दार्शनिक रूपमा हेर्ने प्रयत्नमा यो कृति जन्मिएको छ । ‘सातो’मा प्रयुक्त भएको शैली र लेखनलाई ‘आविष्कारी’ (इनोभेटिभ÷इन्भेन्टिम) भनेर चिनिन्छ । उमेरमा ८० छेक पुगेर पनि सिर्जनशीलता र प्रायोगिक अर्थमा लेखनमा अद्भुत शिल्प र शिल्पी पाउन सकिन्छ— धु्रवचन्द्रको ‘सातो’ भित्र ।’
गौतमको उपन्यास ‘सातो’को एउटा अंशले भन्छ, “हाडछाला भन्ने भनिन्छ नि । त्यसको साक्षात् अवतार थियो वृद्ध । दर्शनार्थीले सोचे, यसलाई त जहाँ छुरा हाने पनि शरीरको कुनै न कुनै हाडमै ठोकिन्छ । कसरी मिलाएर हाने होलान्, कुशलतापूर्वक ? यो प्रमाणित भएको थियो, वृद्धको मृत्यु छुरा प्रहारले भएको थियो र एकाधिक व्यक्तिको रोहवरमा उक्त कार्य सम्पन्न भएको थियो । सफलतापूर्वक । सफलताको कारण मृत्यु । यस्तो भन्न सकिन्थ्यो ।”
रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ११६+४ पृष्ठको यस उपन्यासको मूल्य १९५– रुपैयाँ राखिएको छ ।
०००
डाक्टरको द्विविधा
(लेख निबन्ध : डा. अर्जुनदेव भट्ट)
चिकित्सा क्षेत्रमा ख्याति कमाएका वरिष्ठ युरोलोजिष्ट प्रा. डा. अर्जुनदेव भट्टद्वारा लिखित विभिन्न लेख तथा निबन्धहरूको सँगालो हो, ‘डाक्टरको द्विविधा’ । यसअघि उनका अरू पनि पुस्तकहरू प्रकाशित भइसकेको छ ।
पुस्तकको भूमिकामा कवि साहित्यकार कलानिधि दाहाल लेख्छन्, “असह्य पीडाले छट्पटिएका तर काल नआइपुगेका बिरामीले सद्दे भएपछि ‘डाक्टर देवता हुन्’ का अतिरञ्जित खुसियाली प्रकट गरेका यथार्थ र सुखद अनुभूति पनि लेखकले सर्वत्र अभिव्यक्त गरेको पाइन्छ । अझ सटिक रूपले भन्नुपर्दा डा. अर्जुनदेव भट्टको लामो समयको अनुभवजन्य परिपक्व मनोजगत्बाट निस्रित उपचार विधिका नवनव सम्भावनाको समुद्घाटनले यस पेसामा भर्खर प्रवेश गर्दै गरेका नर्स÷डाक्टरका लागि त यो कृति अचुक रामवाण नै बन्न पुगेको स्पष्ट छ ।”
कृतिकार डा. भट्ट ‘मेरो चिन्तन’मा लेख्छन्, “...वास्तवमा अग्रपिँढीका चिकित्सक यस सुन्दर विकसित र गतिशील वर्तमानको जगका अंश हुन् । यही ध्येय मनमा राखेर यो पुस्तक ‘डाक्टरको द्विविधा’ तयार पारेको छु ।...।”
कृतिमा १२ निबन्ध र लेख समेटिएको छ । ‘वीर अस्पतालमा पहिलो मिर्गौला प्रत्यारोपण’ मा डा. भट्ट लेख्छन्, “आमाछोरा दुवै अस्पतालको लामो बसाइले थकित छन् । शारीरिकभन्दा बढी मानसिक चिन्ता छ, उदासीन र हतास मनस्थितिमा देखिन्छन् । मिर्गौला प्रत्यारोपण कसले गर्ने हो ? यो विभाग–युनिटको प्रमुख को हो ? किन अपेक्षित समयमा प्रत्यारोपण नभएको ? यी आमाछोराका थुप्रै प्रश्न छन् ।...।” (पृष्ठ–११३)
ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित २१६+४ पृष्ठको पुस्तकको मूल्य ३५०– रुपैयाँ राखिएको छ ।