
अनायास साहिँली भेटिन्छिन् । पूर्व–स्मृतिहरू तँछाडमछाड गर्दैछन् ...साहिँली मझिनी मेरो प्रिय साथीकी आमा हुन् । नरे, साहिँलीको छोरो र मेरो साथी थियो ...।
नरे भैंसी हेर्न जान्थ्यो । म पनि भैंसीगोठालो थिएँ । हामी गाईभन्दा भैंसी हेर्न रूचाउँथ्यौँ । भैंसी हेर्ने बहानाले भैंसीलाई आहाल बसाउने निहुँले कोसीमा पौडी खेल्न पाइन्थ्यो ।
धनीका छोराहरू हाम्रो डाहा गर्थे । किनभने उनीहरूले पढ्न स्कूल जानुपर्थ्यो । पाठ बुझाउनु पर्दथ्यो, नत्र पिटाइ खान्थे । हामी भाग्यमानी केटा थियौँ उनीहरूको आँखामा र हाम्रै आँखामा पनि ।
बर्खाको कोसी । असमेल भेल । पौडी खेल्दाखेल्दै हामी झन्डै बगेको । थाहा पाएर साहिँलीले गाली गरेको सम्झन्छु ।
‘मोरा नरे कुक्कुर । तेरो अपराधी बाबु पनि काखमा छँदा छोडेर गएको फेरि फर्केन । लाहुर जानुपर्यो बड । यहाँ गरिखानु भएन । गरिबको कोखमा जन्मेर एक पेट खान र एक जीउ लाउन पर्यो । कालले लखेटेको । कमाउन लाहुर झरेको झर्यै भो– उतै । नआउने बाटो लाग्यो तरूनी स्वास्नी र बालख छोरालाई छोडेर । तेरो निम्ति मैले बाँच्नुपर्यो । तँ मोरो पनि काललाई जिस्क्याउँछस् ? कोसीमा हेलिएर नमर भन्दा मान्दैनस् ? पोहोर कानेको छोरो, तँभन्दा लाठे तँभन्दा पौडी खेल्न जान्ने बगेर मर्यो । था छैन ? पानीसँग खेलाँची गर्नुहुन्छ ?’

तर हामीले पौडी खेल्न छोडेनौँ । यत्ति हो, लुक्थ्यौँ । साहिँलीसँग डराउँथ्यौँ ।
वर्षको एक पटक यहाँ जात्रा लाग्दछ । ‘फाउ जात्रा’ । फाउ पूर्णिमाको दिन । वरिपरिका दुईचार गाउँका रमाइलो थुप्रने स्थान यै हुन्छ । प्रत्येक तरूनातन्नेरी, बूढाबूढी र केटाकेटीहरू यस जात्रालाई विशेष महत्त्व र रौससँग टुंग्याउँछन् ।
म नरेलाई बोलाउन पुग्छु । साहिँलीलाई पनि निम्तो गर्छु तर साहिँली मान्दिनन् । उनको भनाइअनुसार उनी बूढी भैसकिन् रे । उनको जात्रामा हिँड्ने उमेर छैन रे !
‘जात्रा हिँड्ने त तिम्ले, नरेले । अघि नै हिँडिसक्यौँ हामीहरू । नरेको बाबु असतीले मलाई जात्राबाटै फकाएर ल्याको हो, बरू नरेले ल्याइदिए हुन्थ्यो यौटी बुहारी । छोराबुहारीको घरमा यो बूढेसकाल काट्ने थिएँ । हाम्रो उमेर गै सक्यो बा । एसो रमाइलो हेर्न जौँ भने यो गाउँ मान्छेको गाउँ जस्तो छ र ?
यहाँ त भूतैभूत बस्छन् । मात लागोस् कि नलागोस् लागेका निहुँले हातपात गर्न खोज्छन् । फकाउँछन् । म छोरालाई बुहारी खोज्ने फिक्रीमा छु । कुकुर मोराहरू मलाई फकाउँछन् । पोइल जाने भए अघि बैँसमै जान्थे नि । हुर्काई, बढाई यत्रो उमेर भएपछि म नरेलाई चटक्क छाडेर पोइल हिँड्नु रे ! जाऊ तिमीहरू । जाऊ ।’ नरेकी आमा भन्थिन् ।
साहिँलीले मलाई पूरा सत्कार गरिसकेकी छिन् । उनको पाहुना म, भीमबहादुर माझीलाई, उनको छोराको साथीलाई, उनले पूरा मान गरिसकेकी छन् । एक थान राम्ररी फुल उठेको मकै, एक डबका जाँड मैले खाइसकेको छु ।
उनलाई थाहा छैन अचेल म सिपाही भैसकेको छु । र, म यो गाउँको धनवीर माझीलाई खोज्न आएको छु । धनवीर माझीलाई मैले जसरी पनि भोलि नै अड्डा पुर्याउनु छ ।
मैले धनवीरलाई चिनेको छैन । घर पनि थाहा छैन । मैले सोध्ने मौका पनि पाएको छैन । साहिँली मसँग भेट भएदेखि रूँदैछिन् । म पछिल्तिर के गर्लिन् कुन्नि, तर मेरो अगाडि उनको भक्कानु मात्र फुट्छ, दोहोरो कुरै हुँदैन । आँसु सँगसँगै उनले सत्कार सिध्याइन् ।
म एउटा बिँडी सल्काउँछु, एउटा उनलाई दिन्छु । उनी ऐले त्यतिसारो रोएकी छैनन्, अतः म सोध्ने साहस जम्मा पारेर बोल्न आँटेको हुन्छु, साहिँलीको भक्कानु फुट्छ, ‘तिमीलाई देख्यो कि नरेलाई सम्झछु । बाँचेको भए ऐले नरे तिमी जत्रै हुने थियो...’
उनी फेरि उत्ति नै सारो रून थाल्छिन् । म पनि रून्छु । बिस्तारै आँखा पुछ्छु ।
मेरा मरिसकेका साथीहरूमध्ये नरे पनि यौटा हो र सबभन्दा नजिकको । नरेलाई एक्कासि मासी पर्यो । चार दिन थलियो । पाँचौँ दिनमा बाटा लाग्यो–उँभो ।
जिम्वालले भनेथे, ‘डाक्टर भाठाँ गाको भए तीन पैसाको ओखतीले निको हुन्थ्यो ।’
तर तीन पैसा पनि दुर्लभ हुन्छ यहाँ । सबलाई यो कहाँ थाह हुन्छ र ? भैगो, तीन पैसा रिन पाइन्थ्यो होला, तर बुद्धि कसले सापट दिन्छ र ?
कोसी बढेको थियो । नरे बगाइयो । ज्यूँदो होइन । मरेको नरेले बग्नै रहेछ ।
वर्षदिनपछि साहिँली अर्को गाउँमा पोइल गइन् । त्यो सुन्नेबित्तिकै साहिँलीको भाषण सम्झेको थिएँ ।
‘कुकुर मोराहरू । छँदै छन् नि थुप्रै तरूनीबरूनीहरू । म जस्ती राँडी, छोरो त बिहा गर्ने बेला भैसकेको छ जसको, के आँखा गाडेका होलान् । छीः छीः । एक्लै त गाउँघरमा हिँड्न डुल्न पनि भएन । मात्तिएका मोराहरू आफ्ना उमेरकासँग छिल्लिनु । के मान्छे होलान् । यिनकै पीरले जात्रा हेर्न नगयो, रक्सी खाएर घरमै आइपुग्छन् । हे भगवान् ! कैले लाठे होला नरे । कैले यिनको टाउको फोर्न सक्ने होला । न यो पनि आफ्नै बाबुको बिडो थाम्ने हुने हो, लाउर जाने हो ।’
जे होस् । जम्मै बिर्सिदिन्छु । साहिँलीप्रति मेरो उत्तिकै माया छ जति नरे छँदा थियो । उनको उदास अनुहार हेरेर म थामिन सक्दिनँ, ‘साहिँली दिदी, सबै थोक बेस छ यहाँ ? वर्षभरि खान पुग्छ ? साहू कस्ता छन् ?’
उनको रूवाइ अलि घटेको हुन्छ । मैले बोल्नै हुँदैन । कुन्नि उनको हराएको नरे भेट्छिन् कि ममा ।
म साहिँलीबारे एकछिन सोच्दछु । यस उमेरमा भए पनि पोइल जानुबाहेक अरू के उपाय थियो उनीसँग ? पोइले मुटुको एक मुठी रगतले अन्तको धरती भिजाइसकेको थियो । साहिँलीले नेपालको ढुंगे धरतीलाई आँसुले पनि निकै धोइसकेकी थिइन् । छोरो पनि मर्यो । थोत्रो घरबारीमा डाक बढ्ने तरखर हुन लागेपछि उनी कसका लागि बाँचून् ?
साहू पनि केवल नरेको मुख हेरेर चुप लागेका थिए । नरेलाई उनीहरू हली बनाउन सक्थे । खोताला बनाउन सक्थे । बूढी हुन लागेकी भए पनि नरेकी आमालाई उनीहरू कमारी बनाउन सक्थे ।
उनी अलि घटेकी हुन्छिन् । म पुनः कुरा गर्न थाल्छु, ‘वन कति पर पर्छ ? बेठबेगार कत्तिको दिनुपर्दछ ?’
उनले यी प्रश्नहरूमा भन्दा ममा बढ्ता ध्यान दिएको देखेर आफ्नुबारे भन्न थाल्छु कसरी सिपाही भएँ भनेर । कसरी एक जाना हाकिमको उनी बसुन्जेल चाकडी गर्न, भाँडा माज्ने सौभाग्य पाएँ र जाने बेलामा उनले सिपाहीमा भर्ना गरिदिँदै के आसिक दिए र आज कुन उद्देश्यले यो गाउँमा आएको छु, अर्थात् धनवीर माझीको घर कुन हो ? त्यो धनवीर माझी जसले रिन नतिरेर साहू मारेको भन्ने अभियोग छ ।
साहूको उजुर छ कि धनवीर खास ‘साहु–मारा’ हो, किनकि उसले बाह्र वर्षदेखिको ऋण अझसम्म तिरेको छैन । धनवीरको कुनै राम्रो जेथा हुनुपर्दछ, जुन भैदिएर उसले रिन पाएको हो, मैले अड्कल गरिसकेको छु । साउँ त परै जाओस् ब्याजसम्म फर्काउँदैन ।
मैले त्यस ‘साहू–मारा’लाई अड्डामा उभ्याउनु छ । पाता फर्काएर पुर्याउनु छ । नभए पनि म्याद टाँस्नु छ ।
साहिँली अझ रून थाल्छिन् । अघिनैका रुवाइलाई उछिन्ने चीत्कार छ अहिले । रूँदै ऊ चिनाइदिन्छिन्, ‘यै हो धनवीरको घर ।’
त्यै व्यक्तिलाई उनले पहिले नै चिनाइदिएकी थिइन्, ‘तिम्रो भेना’ भनेर ।
म त्यस व्यक्तिलाई नियाल्छु । यौटा नरेजत्रो (अर्थात्, नरे आजसम्म बाँचेको भए हुनेजत्रो) लठेब्रो केटो, जो अघिनैदेखि मलाई बडो ध्यानपूर्वक हेर्दैथियो । जिब्रो त लठेब्रो छ, तर उसका प्रत्येक भावभङ्गिमा पनि लाटे छन् । हिँड्दा पैतला घस्रन्छन् । र्याल चुहिन्छ । ऊ दाम्लो बाट्दैछ, उही चालले ।
...साहूमारा धनवीर मेरो नरेकी आमा, साहिँली दिदीको नयाँ पोइ धनवीर, जसलाई मैले भोलि यै दाम्लाले बाँधेर कानुननेर पुरयाउनु छ...।
म धनवीरलाई एक टकले हेरिरहन्छु । साहिँली रूदै जान्छिन् ।
(गोरखापत्र २०२३ तिर)
(‘जगदीश घिमिरेका प्रतिनिधि कथाहरू’ बाट ।)