
इस्तानबुल । शक्तिशाली एवं भयानक भूकम्पको कारण एक हजार जनाभन्दा बढी मानिसको ज्यान गएपछि अधिकांश दक्षिणी टर्की र उत्तरी सिरियामा जोडतोडका साथ अहिले उद्धार कार्य जारी रहेको छ ।
सोमबार बिहान मानिसहरु सुतिरहेका बेला गाजियान्टेप नजिक सात दशमलव आठ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले लेखेको छ ।
त्यसैगरी स्थानीय समयअनुसार अपराह्न एक बजेर ३० मिनेट जाँदा अर्को सात दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको थियो । सरकारी अधिकारीहरुले दोस्रो भूकम्प पहिलो भूकम्पको पराकम्पन नभएको बताएका छन् ।
टर्कीका राष्ट्रपति रिसेप तैय्यप एर्दोगानले पहिलो भूकम्पको कारण टर्कीमा मात्रै ९१२ जनाको ज्यान गएको र पाँच हजार ३०० जनाभन्दा बढी घाइते भएको पुष्टि गरेका छन् ।

त्यसैगरी सिरियाली आधाकारिक सुत्रले त्यहाँ पनि ३७० जनाभन्दा बढी मानिसको ज्यान गएको विवरण सार्वजनिक गरेको छ । दुवै मुलुकमा सयौँ अग्ला भवनहरु ढलेका छन् । उद्धारकर्ताहरुले भवनका भग्नावशेषमा फसेका मानिसहरु निकाल्ने प्रयास गरिरहेका छन् ।
टर्कीले यस्तो विपत्को स्थितिमा अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ भने विश्वका नेताहरुले आवश्यक सहयोग पठाउने प्रतिवद्धता जनाएका छन् ।
टर्की, सिरिया, लेबनान, साइप्रस र इजरायलका करोडौँ मानिसले यस शक्तिशाली भूकम्पको धक्का महसुस गरेका थिए ।