site stats
देश
माओवादी नेताको नाम जोडिएको त्रिभुवनका पनातिनी ज्वाइँको हत्या अनुसन्धानमा प्रहरी निष्क्रिय

काठमाडौं । ०६९ असोज १७ गते ललितपुरमा हत्या गरिएका दिवाकर चन्दको घटना अनुसन्धानमा प्रहरी निष्क्रिय भएको छ । अनुसन्धानमा सघाउने प्रमाणको अभावमा प्रहरीको अनुसन्धान निष्क्रिय भएको हो ।

घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेका थिए । तत्कालीन समयमा माओवादी नेता र सरकारमा रहेका मन्त्रीहरूको दबाबका कारण अनुसन्धान रोकिएको उच्च प्रहरी अधिकारीहरूले बाह्रखरीलाई बताएका थिए ।

हत्या गरिएका चन्द तत्कालीन राजा त्रिभुवन शाहका पनातिनी ज्वाइँ हुन् ।

S.A.U
Agani Group

यस्तो थियो घटना

०६९ असोज १७ गते ललितपुरमा चन्दको शव फेला परेको थियो । उनी धोबीघाटस्थित एक फ्ल्याटमा एक्लै बस्दै आएका थिए । उनको शव सडेको अवस्थामा फेला परेको थियो । उनी बस्दै आएको फ्ल्याटको बाहिरी ढोका त्यति बेला बन्द अवस्थामा थियो ।

Global bank

तत्कालीन समयमा अनुसन्धानमा सक्रिय अधिकारीहरूका अनुसार बाहिरबाट कोठा बन्द भएकाले प्रहरीले प्रारम्भिक रूपमा चन्दको हत्या भएको आशंका गरेको थियो । उनको घाँटीमा तार कसिएको थियो । घटनास्थलमा उनले प्रयोग गर्ने मोबाइल फेला परेको थिएन । उनको कोठामा रहेको दराज समेत खोलिएको थियो । सामानहरू छरिएका थिए ।

प्रहरीले आर्थिक र सम्पत्तिकै कारण चन्दको हत्या गरिएको दाबी गर्दै आएको छ । तर, हत्यारासम्म पुग्न प्रहरी असफल भएको छ ।

बैतडी पुर्ख्यौली घर भएका चन्दले शाही परिवारकी सदस्य रजनी शाहसँग विवाह गरेका थिए । घटना भएको समयमा चन्द र उनकी श्रीमती रजनीबीच सम्बन्धविच्छेद भइसकेको थियो । बिहेपछि उनी काठमाडौंको छाउनीमा बस्दै आएका थिए ।

चन्द श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि ०६९ सालमा धोबीघाटमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । घटनाको एक महिनापछि उनको मोबाइल धादिङमा सक्रिय भएको पाइएको थियो । नयाँ सिमकार्ड प्रयोग गरेर मोबाइल चलाएको देखिएपछि प्रहरीले अनुसन्धानमा सफलता पाउने अपेक्षा गरिएको थियो ।

तत्कालीन समयमा महानगरीय अपराध महाशाखाको टोली अनुसन्धानमा खटिएको थियो । मोबाइलकै खोजीका लागि महाशाखाको टोली धादिङ पुगेको थियो । मोबाइल प्रयोग गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं ल्यायो ।

तर, मोबाइल प्रयोगकर्ताले भाइबुहारी रुविना भण्डारीले आफूलाई दिएको र अरू केही कुरा थाहा नभएको बताए । उनको बयानका आधारमा प्रहरीले रुविनासित सोधपुछ थाल्यो । उनले ललितपुरको सातदोबाटोमा तरकारी पसल सञ्चालन गर्दै आएकी थिइन् ।

रुविनाले उक्त मोबाइल आफ्नो श्रीमान् ईश्वर भण्डारीले सातदोबाटोको नालीमा भेटेको बताइन् । त्यति बेला रुविनाका श्रीमान् ईश्वर दुबई गइसकेका थिए । रुविनालाई प्रहरीले एक महिना हिरासतमा राखेको थियो । तर, केही प्रमाण नखुलेपछि उनी छुटिन् ।

प्रहरीले ईश्वरलाई नेपाल बोलाउन परिवारलाई निरन्तर आग्रह गर्दा पनि उनी आएनन् । त्यसपछि उनीविरुद्ध इन्टरपोलमार्फत ०६९ माघ १५ गते इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो । त्यसको चार महिनापछि उनी नेपाल फर्किए । महानगरीय अपराध महाशाखाको टोलीले विमानस्थलबाटै नियन्त्रणमा लियो ।

उनले पनि सातदोबाटोस्थित नालीमै मोबाइल फेला परेको बयान दिए । प्रहरी अनुसन्धान जारी रहेकै बेला माओवादी ‘उच्च नेतृत्व र मन्त्री’ले प्रहरीलाई ईश्वरलाई छाड्न दबाब दिएको प्रहरी स्रोतको भनाइ छ ।

उनलाई थुनामा राखेर अनुसन्धान गर्ने तयारीबीच भण्डारीलाई भेट्न माओवादी केन्द्र धादिङका नेता (हाल वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री) शालिकराम जम्कट्टेल हनुमानढोका प्रहरी कार्यालयमा पुगे । उनी पुगेपछि धादिङकै प्रभातकिरण सुवेदीको जमानीमा प्रहरीले ईश्वरलाई छाडेको थियो ।

प्रहरीका अनुसार त्यसयता घटनामा संलग्न कसैलाई पक्राउ गरिएको छैन । हालसम्म अनुसन्धानमा खटिएका सबैजसो प्रहरी अधिकारीहरू ईश्वरमाथि अनुसन्धान गर्दा थप रहस्य खुल्न सक्ने बताउँछन् । दिवाकर चन्दको जग्गाका कारण हत्या गरिएको हुन सक्ने प्रहरीको जिकिर छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०९:३३
प्रतिक्रिया दिनुहोस्