
काठमाडौं । उपाधि विजेता न्यू डायमन्ड स्पोर्ट्स क्लबकी स्पाइकर प्रतिभा माली छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सम्पन्न प्रतियोगितामा न्यू डायमन्डले अपराजित हुँदै उपाधि उचालेको थियो । न्यू डायमन्डले यस प्रतियोगिताको उपाधि जितेको यो पहिलोपटक हो । न्यू डायमन्डलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी प्रतिभा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।
प्रतिभाले ५० हजार रुपैयाँ नगद पुरस्कार जितिन् । विधागततर्फ सशस्त्र प्रहरी बल (एपीएफ)की निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर घोषित भइन् । फाइनल खेलको चौथो सेटमा निरुता घाइते भएकी थिइन् । उनको अहिले ब्लू क्रस अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, एपीएफकी हिरा केसी उत्कृष्ट ब्लकर बनिन् । एपीएफकै सरस्वती चौधरी उत्कृष्ट सर्भर घोषित भइन् । न्यू डायमन्डकी प्रगति नाथ उत्कृष्ट सेटर घोषित भइन् । न्यू डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो बनिन् । न्यू डायमन्डकै कुमार राई उत्कष्ट प्रशिक्षक घोषित भए । न्यू डायमन्डकै सलिना बुढामगर उदीयमान खेलाडी घोषित भइन् ।
विधागततर्फ उत्कृष्ट प्रत्येक खेलाडीले १५ हजार रुपैयाँ नगद पुरस्कार जिते ।

आज सम्पन्न फाइनलमा साविक विजेता एपीएफलाई ३–२ को सेटमा हराउँदै न्यू डायमन्डले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमन्डले २८–२६, १९–२५, २५–२२, २४–२६, १५–९ को स्कोरमा विजय हासिल गरेको हो ।
फाइनलमा न्यू डायमन्डकी प्रगति नाथ प्लेयर अफ द म्याच घोषित भइन् । प्रगतिले १० हजार रुपैयाँ पुरस्कार जितिन् ।
नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई २५–२१, २५–२१, २५–१३ को स्कोरमा हराउँदै तेस्रो स्थान हासिल गर्यो । पुलिसकी उषा भण्डारी प्लेयर अफ द म्याच घोषित भइन् । उषाले १० हजार रुपैयाँ नगद पुरस्कार जितिन् ।
प्रतियोगितामा तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ र न्यू डायमन्डस्पोर्टस् क्लबले प्रतिस्पर्धा गरेका थिए ।