site stats
अर्थ व्यवसाय
कोसी एक्स्पोमा झिंगे माछाको अचारमा आकर्षण

विराटनगर । विराटनगर–२ की कविता कार्कीले घरमा खानका लागि मात्रै बनाउँदै आएको माछाको अचार स्वादका पारखीहरूका लागि रोजाइ बनेको छ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका हरेकजसो अवलोकनकर्तालाई उनले स्थानीय झिंगे माछाबाट बनेको अचार चाख्न आग्रह गर्दै त्यसको स्वादको पनि प्रतिक्रिया लिइरहेकी छन् ।

कविताले यसअघि कहिल्यै यसरी अचार बनाएर बिक्री गरेकी थिइनन् । गृहिणीका रूपमा मात्रै रहेकी उनले माछाको मौलिक स्वादयुक्त अचारलाई प्रबर्द्धन गर्ने थलोका रूपमा एक्स्पोलाई प्रयोग गरिन् । मेहनत गरेर अचार बनाइन् । उनले बनाएको माछाको अचार चाख्ने जोसुकैले पनि मिठो अचार बनेको प्रतिक्रिया दिइरहेका छन् । जसका कारण उनले भविष्यमा यसैलाई उद्यमका रूपमा अगाडि बढाउने योजनासमेत बनाइसकेकी छन् । 

S.A.U
Agani Group

"पहिले घरपरिवारभित्रै खानका लागि बनाइन्थ्यो । हाम्रो परिवारमा सानैबाट यो अचार बन्दै आएको थियो । पाहुनाहरूले स्वाद पनि मन पराउनु हुन्थ्यो," उनले भनिन्, "मैले माछाको अचार व्यावसायिक रूपमा यही एक्स्पोबाट सुरु गरेको हो, सबैबाट प्रतिक्रिया राम्रो आइरहेको छ । पाँच सय प्याकेट जति बिक्री पनि गरिसकेको छु ।"

आफ्नो स्टल अवलोकनमा पुग्नेहरूलाई उनले पहिले अचारको स्वाद चखाउँछिन् । अनि स्वादबारे प्रतिक्रिया लिँदै भान्सामा यस्तो अचारको महत्त्वबारे बुझाउने प्रयास पनि गरिरहेकी हुन्छिन् ।

Global bank

अचार बनाउन प्रयोग गरिएको माछा विराटनगरकै हाट बजारहरूमा चौधरी समुदायका दिदीबहिनीहरूबाट किन्ने गरेको उनले बताइन् । अचारलाई आफ्नै भान्जीको नामबाट ‘सिया अचार’ को नामबाट ब्रान्ड दिएको जानकारी दिइन् ।

उनले एक्स्पो अवलोकनकर्ताहरूले अचार चाखेर राम्रो प्रतिक्रिया दिएकोले एक्स्पोपछि यसैलाई ब्रान्डिङ गरेर उद्योगका रूपमा अघि बढाउने बताइन् ।

एक्स्पोमा करिब चारसय स्टलहरू छन् । ठुला ब्रान्डदेखि साना, लघु तथा कृषि उद्यमीहरूका स्टलहरू पनि रहेका छन् । विशेषगरी साना उद्यमीहरूलाई प्रबर्द्धन गर्न एक्स्पफ निकै महत्त्वपूर्ण अवसर बनेको नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ का उपाध्यक्ष कृष्णकुमार अग्रवालले बताए । 

साना तथा महिला उद्यमीहरूलाई एक्स्पोमा सहभागी हुन स्थानीय तहहरूले प्रबर्द्धकको भूमिका निर्वाह गरिदिएर ठुलो सहयोग पुर्‍याएको उनले सुनाए । परिसंघले विराटनगर–२ शंकरपुर मार्गमा पहिलोपटक आयोजना गरेको एक्स्पो ऐतिहासिक रूपमा सफल बन्न लागेको उपाध्यक्ष अग्रवालको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २०:४३
प्रतिक्रिया दिनुहोस्