
क्विटो । इक्वेडरमा हत्या गरिएका मेयर पदका उमेदवारले चुनाव जितेका छन् । मतदान सुरु हुनु केही घन्टा अघि मात्रै गोली हानेर हत्या गरिएका ४१ वर्षीय ओमार मेनेन्देजले प्युर्टो लोपेज सहरमा चुनाव जितेका हुन् ।
शनिबार चुनाव प्रचारप्रसार अभियानका कार्यकर्ताहरूसँग बसिरहेको कोठामा आएर बन्दुकधारीहरूले उनीमाथि गोली प्रहार गरेका थिए ।
अप्रत्याशित आक्रमणमा एकजना किशोरको पनि ज्यान गएको छ । प्रहरीले अझै आक्रमणको उद्देश्य पत्ता लगाउन अनुसन्धान गरिरहेको छ । मेनेन्देजकै पार्टीका एकजना सदस्यले उनको मेयर पद धारण गर्ने अनुमान गरिएको छ ।
हिंसात्मक लागुऔषध गिरोहहरूका बढ्दो अपराध लहरको समयमा एन्डियन मुलुक इक्वेडरमा नगरपालिकाको चुनाव सम्पन्न भएको हो ।

चुनावको क्रममा मारिने मेनेन्देज एक मात्र राजनीतिज्ञ होइनन् । दुई साता अघि तटीय सहर सालिनासका लागि मेयर पदका उमेदवार जुलियो सिजर फाराचियोको पनि गोली हानी हत्या गरिएको थियो ।
४५ वर्षीय फाराचियोको हत्या गर्ने व्यक्तिलाई प्रहरीले गिरफतार गरेको छ । ती हत्याराले पहिले पनि फाराचियोलाई ज्यान मार्ने धम्की दिने गरेको बुझिएको छ ।
उनी लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा कैद भुक्तान गरेर हालसालै मात्र रिहा भएका थिए । मेनेन्देजको हत्या गरेर मोटरसाइकलमा फरार भएका आक्रमणकारीहरूलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
बीबीसीबाट ।